• आश्विन १३ २०८१, आईतवार

सुन जताततै पाइँदैन

माघ २४ २०८०, बुधबार

कुनै पनि मानिस एकै समयमा दुई भिन्न दिशामा जान सक्दैन । जहाँ शङ्का छ, त्यहाँ निस्चय छैन । आफ्नो दिमागी शब्दकोषबाट जबसम्म मानिसले शङ्का शब्द निकाल्न सक्दैन, तबसम्म उसको कर्म अघि बढ्दैन । कोही मानिस यस्ता हुन्छन्, जो बुद्धिमान र विवेकशील भएर पनि कुनै पनि काममा सफल हुँदैनन् ।

यस्ता मानिस सम्पूर्ण दोष भाग्यमा थोपर्छन् । आफ्नो भाग्यलाई सराप्छन् । तर यसको दोषी ऊ आफै हो । उसमा आत्मविश्वासको कमी रहन्छ । मनमा आशङ्काले घर गरिरहन्छ । एकाग्र भएर बुद्धिमानीपूर्वक काम गर्न सक्दैन । यसबाट हरेक दिन असफलता हात लाग्छ ।

ऊ न त प्रशन्न रहन्छ, न त अरूलाई प्रशन्न रहन दिन्छ नै । आत्मिक र मानसिक शक्तिभन्दा अरू कुनै पनि कुरा शक्तिशाली हुन सक्दैन । बालकमा चेतना आएदेखि नै यो कुरा सम्झाउन थाल्नुपर्छ । किशोर र युवकलाई यो शिक्षा दिइरहनुपर्छ ।

तिमीले महान काम गर्नका लागि तिम्रो जन्म भएको हो । प्रकृतिले पनि तिमीलाई ती सबै काम सम्पन्न गरेको देख्न चाहन्छ । यदि त्यसमा तिमीलाई विश्वास छ भने त्यसमा अरूको पनि राय लिनु राम्रो हुन्छ ।

हर मानिसले जीवनमा नयाँ चुनौती लिन तयार हुनुपर्छ । आफूभित्र रहेको बललाई हामीले चिन्नु पर्छ । ं त्यसको पूराका पूरा सदुपयोग गर्नुपर्छ । सुन धरतीको बाहिरी सतहमाथि पाइँदैन । यो पाउन निकै कठिन र दुर्गम बाटो अबलम्बन गर्नुपर्छ ।

अनेकौं कठिनाइ र आपत्विपद्को सामना गर्नुपर्छ । धर्ती खनेर सुरूङ निर्माण गर्नुपर्छ । यस्तो बेलामा सुरूङ भत्किएर हाम्रो शरीर दबिएर अन्त्य पनि हुनसक्छ । यसो गरेपछि मात्र हामीले सुनजस्तो बहुमूल्य कुरा पाउँछौं ।

फेरि सुनमा ढुंगा, माटो र बालुवा मिसिएको हुन्छ । यसलाई भट्टीमा पगालेर छुट्याउनु पर्छ । यो घोर परिश्रम पछिमात्र हामीले सुन पाउँछौं । हामीमा रहेको विश्वास, तरिका, साधन र मेहनतले मात्र हामीले सुन पाउँछौं ।

हामीले निडर र भयरहित भएर मात्र त्यो कुरा प्राप्त गर्न सक्छौं । यसरी कार्य गर्ने हो भने कुनै पनि कुरा असंभव छैन । जुन कुरामा मानिसको दृढ विश्वास छ, त्यसमा कसैले पनि हानी पुर्याउन सक्दैन ।

(स्वेट मार्डनको वैज्ञानिक सफलताबाट)