• फाल्गुन २६ २०८२, मंगलवार

भारतीय अभिनेत्री पुनम पाण्डेले आफ्नै मृत्युको खबर फैलाएको खुलासा

माघ २० २०८०, शनिबार

नयाँ दिल्ली । भारतीय मोडल/अभिनेत्री पुनम पाण्डेले आफ्नो मृत्युबारे झुठो खबर आफै फैलाएको पाइएको छ । अर्थात् उनी जीवितै छिन् । उनी पाठेघरको मुखको क्यान्सरका कारण बितेको भनी उनकै इन्स्टाग्रामबाट हिजो पोस्ट भएको थियो । खासमा उनलाई क्यान्सर पनि भएको रहेन छ ।

उनी आफैले मृत्युको झुठो खबर फैलाएको र आफूलाई कुनै खालको क्यान्सर पनि नभएको बताएकी हुन् । इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै उनी स्वयमले सर्भाइकल क्यान्सरबारे जागरुकता फैलाउन यो सबै गरेको जिकिर गरेकी छन् । आफ्नै मृत्युको तामाशा गर्ने पाण्डेको हर्कतविरुद्ध सोसल भिडियो प्रयोगकर्ता खनिएका छन् ।

उनले घृणाको तहमा गालीगलौज झेल्नुपरेको छ । उनले शेयर गरेको भिडियोमा सर्भाइकल क्यान्सरविरुद्ध युद्ध लड्नुपर्ने कुरा गरेकी छिन् ।

उनले भिडियो क्याप्सनमा लेखेकी छन्, ‘म तपाईंहरूलाई केही महत्वपूणर् कुरा भन्न बाध्य महसुस गरिरहेकी छु । म यहाँ छु, जीवित छु । मलाई सर्भाइकल क्यान्सर भएको छैन तर यसले हजारौं महिलाको ज्यान लिएको छ, जुन दुःखद छ । यो बिमारसँग लड्नेबारे ज्ञानको कमीले महिलाहरूले ज्यान गुमाइरहेका छन् । केही अन्य क्यान्सरभन्दा विपरीत सर्भाइकल क्यान्सर पूणर्तः रोकथाम गर्न सकिन्छ ।’

यसअघि उनको इन्स्टाग्रामबाट मृत्युको खबर दिँदै एक पोस्ट सार्वजनिक गरिएको थियो, जसमा सर्भाइकल क्यान्सरका कारण पुनमको मृत्यु भएको लेखिएको थियो । २४ घण्टाभित्रै पुनम आफैंले आफ्नो मृत्युको तामाशा गरेको पाइएको हो । यस्तो हर्कतका लागि अभिनेत्रीको ट्रोल भइरहेको छ । कतिपयले त गलत खबर फैलाएकोमा उनीविरुद्ध मुद्दा चलाउनुपर्ने मागसमेत गरिरहेका छन् ।