चन्द्रमामा सुतेको जापानी मुन ल्याण्डर अहिले ब्युँझिएको छ । गत जनवरी २० मा चन्द्र धरातल टेकेदेखि निरन्तर क्रियाशील रहेको मुन ल्याण्डर एक हप्तादेखि उर्जाशक्ति नपाएर चन्द्रसतहमा सुतिरहेको थियो । ऊर्जा आपूर्तिमा आएको समस्याका कारण सुतेको जापानी यान ब्युझिएपछि जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा) मा खुशीयाली छाएको छ ।
मुन ल्याण्डरसँगको सम्पर्क पुनःस्थापित भएपछि उर्जा आपूर्तिको प्राविधिक समस्या हल भएको छ । सूर्यको दिशामा आएको परिवर्तनसँगै यानमा जडित सोलार प्यानलले सौर्यप्रकाश प्राप्त गरेपछि यानमा ऊर्जा आपूर्ति भएर मुन ल्याण्डर पुनः सञ्चालनमा आएको हो ।
जापानी वैज्ञानिकका अनुसार यो यान चन्द्रमामा अवतरण भएसँगै यसका सोलार सेल सूर्यको विपरीत दिशातिर परेसँगै यसमा उर्जा आपूर्तिको समस्या परिसकेको थियो । केही छोटो समयसम्म यो यान ब्याट्रीको ऊर्जाबाट चलेको थियो । समयक्रमसँगै उर्जा आपूर्तिको समस्या थपिदै गएपछि यसले काम गर्न छाडी सुतेको थियो ।
जाक्साका वैज्ञानिकले यो अवस्थामा आफ्नो स्वपहल लिएका थिए । त्यो थियो ब्याट्री सकिएर बन्द हुनुपूर्व केही थोरै उर्जा सिमित राखी आफैले यो ल्याण्डर बन्द गरिदिनु । सूर्यको दिशा परिवर्तनसँगै सोलार प्यानल चार्ज हुने र यान फेरि पहिलेकै क्रियाशील अवस्थामा आउनसक्ने आशा अहिले यथार्थमा परिणत भइसकेको छ ।
आफ्नो केही दिनको निद्राबाट ब्युँझिएपछि मुन ल्याण्डरले एउटा नयाँ तस्वीर पठाएको छ । त्यो तस्वीर आफू उठेर देख्दा र लिँदा नजिक पर्ने चट्टानको रहेको छ । त्यसको नाम ज्याक्साका वैज्ञानिकले ‘टोए पूडल’ राखिदिएका छन् ।
ल्याण्डरले उक्त चट्टानको संरचनाको बारेमा अहिले अध्ययन गरिरहेको छ । यो अध्ययनबाट चन्द्रमाको उत्पत्ति र यसको सतहबारे थप तथ्य पत्तालाग्ने छ ।
जापान चन्द्रमामा आफ्नो यान सफ्ट ल्याण्डिङ गराउन सक्ने पाँचौँ राष्ट्र हो । यसअघि अमेरिका, सोभियत संघ, चीन र भारतले यो सफलता हासिल गरिसकेका छन् ।
(एजेन्सीको सहयोगमा)