काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ । उद्योग मन्त्री रमेश रिजालले माघ ११ गते कार्यविधि स्वीकृत गरेका हुन् ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी कार्यलाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि तयार पारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअका अनुसार चालु आ.व २०८०/८१ मा स्टार्टअप कर्जाका लागि रु पच्चीस करोड विनियोजन भएको छ ।
मन्त्रालयका उपसचिव शेखरबाबु कार्कीका अनुसार स्टार्टअप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम दर्ता भई निवेदन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका कार्यविधिमा उल्लिखित मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुनेछन्। यस कार्यविधिमा स्टार्टअप उद्यमको रूपमा सञ्चालन गर्न सकिने उद्यमका १६ वटा क्षेत्र तोकिएका छन्।