चालु आर्थिक वर्ष २०८०–२०८१ को पछिल्ला ६ महिनामा नेपालको निर्यात व्यापार केही आशालाग्दो देखिएको छ । यो अवधिमा नेपालबाट कूल ७४ अर्ब ९६ करोड रूपैयाँ बराबरको वस्तु निर्यात हुन गएको छ । यो नेपालको व्यापारका लागि सुखद सङ्केत पनि हो ।
तर समस्या भनेको कहाँ र कसरी यो शुभ सङ्केतरूपी व्यापार निर्यातलाई प्रवर्द्धन गर्न सकिन्छ भन्ने नै हो । यसका लागि सम्बन्धित मन्त्रालय र विभागहरू निकै चनाखो हुनु पर्दछ । यो फेरि निर्यात व्यापारमा उलटफेर भएको पनि होइन । बरू डुब्नेलाई ‘त्यान्द्रोको सहारा’ मात्र हो ।
तथापि आशा गर्न सकिने कुरा भनेको निर्यातित वस्तुमध्ये १७ वटा वस्तुको नवप्रवद्र्धन गर्न सकिने हो भने नेपाल उँभो लाग्दै जाने पनि देखिएको छ । किनकि, ती १७ वटा वस्तुले ५५ अर्ब ८० करोड बराबरको निर्यात आर्थिक सङ्कलनको हिस्सा बोकेका छन् । बाँकी सबैको मात्र १९ अर्ब रकम देखिन आएको छ ।
के कति निर्यात भए ? :
आइरन स्टिल : सबैभन्दा बढी निर्यात भएका वस्तुमा आइरन–स्टिलका उत्पादनको देखिएको छ । निर्यातमा साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ८ अर्ब ६९ करोड रूपैयाँ बराबरको आइरन स्टिल निर्यात भएको छ ।
अघिल्लो ६ महिनाको तुलनामा आइरन स्टिलको निर्यात ८३ प्रतिशतले बढेको देखिन्छ । यो भनेको लगभग शतप्रतिशतले बृद्धि हो । यो अवधिको नेपालको कूल निर्यात व्यापारमा यसको योगदान डबल डिजिट अर्थात् ११.६ प्रतिशत पुग्नु धेरै राम्रो हो । तर यसमा हेक्का राख्नु पर्ने कुरा चाहिँ यसको कच्चा पदार्थ विदेशबाट ल्याइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट निकै प्रभावित रहने गर्दछ ।
तयारी धागो : त्यसपछि दोस्रो स्थानमा धागोको निर्यात रहेको छ । पछिल्लो ६ महिनामा यसको निर्यात ५ अर्ब ८३ करोड रूपैयाँ रहेको छ । निर्यात राम्रो देखिए पनि गत वर्षको तुलनामा धागोको निर्यातमा कमी आएको हो । अघिल्लो वर्षको तुलनामा धागोमा ३ प्रतिशतले कमी आएको छ । ६ महिनाको समग्र निर्यात व्यापारमा यसको योगदान ७.७९ प्रतिशत रहेको छ ।
उलन कार्पेट तथा तयारी गार्मेन्ट : उलन कार्पेटको निर्यात तेस्रो उच्चतामा रहेको छ । उलन कार्पेटको निर्यातबाट ५ अर्ब २३ करोड सङ्कलन हुन गएको छ भने र तयारी गार्मेन्टको निर्यातबाट ४ अर्ब ९७ करोड प्राप्त भएको छ । यस अवधिको तयारी कार्पेटको निर्यातमा गर्त वर्षको तुलनामा १६ प्रतिशतले बृद्धि भएको छ ।
अलैची : कालो मोती अर्थात् अलैँचीको निर्यात पनि ३ अर्ब ९० करोड पुगेको छ । फलफूलका जुसको निर्यात तीन अर्ब ८० करोड भएको छ ।
प्लाइउड : प्लाइउडको निर्यात ३ अर्ब ५३ करोड पुगेको छ । गत वर्षको तुलनामा प्लाइउडको निर्यातमा शतप्रतिशतले बृद्धि हुन गएको देखिएको छ । किनकि गत वर्ष प्लाइउडको निर्यात मात्र १ अर्ब ७४ करोड रहेको थियो । नेपालको निर्यात व्यापारमा प्लाइउड नयाँ हो । २ वर्ष अघिबाट मात्र यसको निर्यात हुन थालेको हो ।
पाम आयलमा गिरावट : यो वर्षको पछिल्लो ६ महिनामा ‘पाम आयल’को निर्यातमा भने अस्वाभाविक गिरावट आएको छ । गत वर्ष यसै समयमा यसको निर्यात १३ अर्ब २० करोड रहेकोमा यो वर्ष मात्र २ अर्ब ७२ करोडमा सिमित हुन गएको छ ।
अन्य : फेल्टको उत्पादन ६ महिनामा दुई अर्ब ४७ करोड, चियाको निर्यातमा दुई अर्ब १४ करोड, सिमेन्ट क्लिङ्कर एक अर्ब ७६ करोड, पश्मिनाको निर्यात १ अर्ब ६९ करोडको पुगेको छ । पशुखाद्य सामग्री निर्यातमा केही बढोत्तरी आएको छ । यस वर्ष कुकुर बिरालोको खाद्य सामग्री १ अर्ब ४१ करोड, कपडामा १ अर्ब २४ करोड, मेडिकल हर्वलमा १ अर्ब २२ करोड रूपैयाँको निर्यात हुन गएको छ ।
नवप्रवर्द्धन जरूरी :
नेपाली सामानमा जति मौलिकता छ, त्यसमा निखार ल्याउन सकिएको छैन । निखार ल्याउन वा गुणात्मकता प्रदर्शन गर्न सकेमा यसको निर्यात बजार आफैमा बिस्तार भएर जाने देखिन्छ ।
नेपाली सामानमा विदेशीको केही चाख र रुचि देखिन्छ पनि तर कलात्मक गुणात्मकता ल्याउन नसक्दा ती सामान अलपत्र परेका छन् । शायद हामीमा आवश्यक हुनु पर्ने पेसागत सोच र क्षमताको अभाव छ । हामी र हाम्रा सामान विश्व बजारमा गुण अनुसारको रूप नभएका उत्पादनमा दर्ज भइरहेका छन् ।
यसका लागि नवप्रवर्द्धन जरूरी भइसकेको छ । कस्तुरी विना खोजेर लेक जङ्गल चाहार्दै हिँडेर थाकेझैं हामी पनि आफ्नै उत्पादनको वास्तविकता पहिचान र स्तरीकरण गर्न सकिरहेका छैनौ ।
सरकारले यस विषयमा गफ मात्र होइन, नीति तथा कार्यक्रम निर्माण गरेर नवप्रवर्द्धनका लागि अघि बढ्नै पर्छ ।