स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा काँग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने काँग्रेसको कार्यक्रम छ ।
‘नेपाली काँग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदै छौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदै छन् ।’
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली काँग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भए पनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली काँग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।
विश्व राजनीतिक इतिहासको रङ्गमञ्चमा काँग्रेस नै त्यस्तो एउटा दल होला, जसको नेतृत्वमा तीन वटा शासन व्यवस्थालाई परास्त गरेर नयाँ शासन व्यवस्थाको स्थापना र नेतृत्व भएको होस् ।
नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको काँग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ ।
गणतन्त्र स्थापना र संविधान निर्माणमा समेत नेतृत्व गरेको काँग्रेस अहिले पनि सत्ता शक्तिको बागडोर सम्हालिरहेको छ । तर काँग्रेस स्वयम्ले समेत लामो समयसम्म देशको नेतृत्व गर्दा मुलुकको विकास र समृद्धिका लागि उल्लेख्य काम गर्न नसकेको यथार्थलाई कसैले नकार्न सक्दैन ।
नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो ।