• मंसिर १५ २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न रवि लामिछानेको आह्वान

माघ ११ २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी सहभागी नरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रभावित पार्न आह्वान गर्दै ‘ट्विट’ गरेका छन् ।

राष्ट्रियसभाका १९ सदस्य छान्न सातै प्रदेश मुकाममा मतदान जारी रहेका बेला उनले ‘हाइज्याकर’लाई हराउन आह्वान गरेका हुन् ।

“व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ,” बिहीबार लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर)हरूले लामो छुट्टी लिए सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।”

उनले देश बनाउने सूत्रका रूपमा निर्वाचन हराउनेसहितका विकल्प सार्वजनिक गरेका हुन् । राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन प्रस्ताव गरेका उनले सामाजिक सञ्जालदेखि मिडियासम्मका विषयमा प्रश्न उठाएका छन् ।

“राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिंगो संसद्ले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ,” लामिछानेले लेखेका छन्, “त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नांगो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ, तलबी सेना अफ बिटमा नचलाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।”

उनले ०८४ पछि ‘देश बन्ने’ जिकिर पनि गरेका छन् । “अन्त्यमा, देश बन्छ, तर कहिले बन्छ त भन्दा हाइज्याकरहरूको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ,” उनले लेखेका छन्, “चुनाव कहिले ? ८४ मा ।”