• बैशाख १० २०८२, बुधबार

बन्धक रिहा गरिए दुई महिना युद्ध विरामका लागि इजरायल तयार

माघ ९ २०८०, मंगलवार

गाजा । इजरायलले युद्धविरामको प्रस्तावलाई अगाडि बढाएको छ । बन्धक रहेका आफ्ना सबै नागरिकलाई रिहा गरिदिने भए आफूहरू पनि २ महिनासम्मका लागि युद्ध विराम गर्न तयार रहेको भन्दै इजरायलले हमासका लडाकुहरूलाई प्रस्ताव पठाएको छ ।

यो प्रस्ताव स्वीकृत भयो भने २ महिनासम्म गाजामा मिसाइल र बम–बारुदको विस्फोटको गुञ्जन रोकिनेछ । इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ देखि युद्ध चलिरहेको छ ।

सबैभन्दा पहिलो हमासका लडाकुहरूले इजरायलभित्र घुसेर हमला गरेका थिए । यो घटनामा करिब १ हजार ४०० इजरायली नागरिक मारिए । २४० जनालाई अपहरण गरिएको थियो । यसको प्रतिकारमा इजरायलले पनि गाजामा हमला गर्‍यो । यसमा १५ हजार भन्दा धेरै मानिस मारिए । अहिलेपनि करिब १३७ इजरायली नागरिक हमासको नियन्त्रणमा छन् । यी नागरिकलाई छुटाउन इजरायलीहरूले सरकारमाथि दबाब दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोमबार अमेरिकी समाचार आउटलेट एक्सियोसलाई उद्धृत गर्दै एउटा दाबी गरेको थियो । दाबीका अनुसार इजरायलले हमासलाई एउटा प्रस्ताव दिएको छ । यो प्रस्ताव मध्यस्थकर्ता कतार र मिश्रमार्फत पठाइएको हो । बहु चरणको यो सम्झौता अन्तर्गत गाजामा २ महिनासम्म युद्ध बिराम घोषित गर्न इजरायलले प्रस्ताव गरेको छ । तर यसको बदलामा सबै इजरायली बन्धकहरूलाई रिहा गर्नु पर्ने इजरायली अधिकारीहरूको माग छ ।

अहिलेसम्म इजरायल, कतार र मिश्र कसैले पनि यो दाबी पुष्टि भने गरेका छैनन् । हमासले यो प्रस्ताव मान्यो भने २ महिनासम्म गाजामा रक्तपात रोकिनेछ । यस अघि सन् २०२३ को नोभेम्बर २४ देखि ३० को बिचमा भएको युद्धबिराममा हमासले सय जना इजरायली बन्दीलाई रिहा गरेको थियो । यसको बदलामा इजरायलले पनि २४० फिलिस्तानी कैदीलाई रिहा गरेको थियो ।