काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् ।
आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताए । उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबीसमेत गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखि नै एक चीन नीतिभन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति रहिआएकाे छ । त्योभन्दा बाहिर हामीले बनाएका छैनौं । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौं ।’ उनले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।