• मंसिर १५ २०८१, शनिबार

प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा युगान्डामा भएको ‘नाम’ को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसंघका सदस्य, विश्वका आधाभन्दा बढी जनसंख्या र संयुक्त राष्ट्रसंघपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।

प्रधानमन्त्रीले भने, “अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।”

नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “असंग्लनताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।”

‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरू पवित्र रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको बताए ।