स्टिम (वाष्फ) इन्जिन पत्ता लागेपछि यातायातमा क्राान्ति नै आयो । यसले विश्वको खोज, यातायात र सामान ढुवानीमा परिकल्पना नै नगरिएको हदसम्म मानिसको पहुँचलाई बिस्तार गर्यो । समाज विकासको गतिलाई गुणात्मकता प्रदान गर्यो ।
विश्वमा भर्खरै बामे सर्दै गरेको पुँजीवादी आर्थिक विकासको यात्रालाई अनन्तसम्म फैलन सहायता गर्यो । विश्व पुँजीवादको बाहुपासमा समेटियो । सामन्तवाद अवशेषका रूपमा कैद हुन गयो । मानिसको सोच, विचार र क्रियाकलापमा आएको परिवर्तनले विश्व मानवको जीवन पद्धति नै भिनन बनाइदियो ।
विश्व सम्बन्ध बिस्तार हुन गयो । त्यो साम्राज्य, उपसाम्राज्य र उपनिववेश तथा अर्धउपनिवेशको सामाजिक, आर्थिक तथा राजनीतिक आधार र अधिरचनामा अभिव्यक्त हुन गयो । वाष्फ इन्जिनको ताकत यति सर्वव्यापी र सर्वशक्तिमान होला भनेर कसैलाई पनि लाागेको थिएन ।
आज यो वाष्फ इन्जिनको स्वरूप रकेट, सेटेलाइट, बुलेट ट्रेन, मेट्रो रेल, लडाकु जहाज, अन्तरीक्ष यान, रकेट तथा मानिस दैनन्दिन उपयोग गरिरहेका मनमौजी यातायातका साधनमा बग्रेल्ती उपयोग भइरहेका छन् ।
जमिन मात्र उत्पादनको साधन र त्यसमाथि रहेको स्वामित्वको विशिष्टीकृत शक्तिमा आधारित भूस्वामी, जमिन्दार, राजारजौटा र तिनका आसेपासेको सामन्तवादी आधार तथा अधिरचना वाष्फ इन्जिन, छापाखाना र बारूदको आविष्कारले अन्त्य गरिदिएका थिए । बारूद ऊर्जा, छापाखाना अनुसन्धान र वाष्फ इन्जिन सर्वव्यापी यातायातका सम्बाहकका रूपमा अघि बढेका थिए ।
सुरूको वाष्फ इन्जिन केवल उमालिएको तातो पानीको वाफले निकालेको शक्ति मात्र थियो । पानी वाफमा परिणत हुँदा यसले लिने ठूलो ठाउँ र दिने धक्काले नै ऊर्जाको काम गरेको थियो ।
पानी तात्दा उठेको वाफ बढी हुँदा त्यसले निकास खोज्ने र धक्का दिने गर्दा पानी माथिको इन्जिन चलमलाउन थाल्ने र वरपर सर्ने गर्न थालेको सुरूको अभ्यास र प्रयोग नै अन्तरीक्षमा मानव बस्ती बसाउनेदेखि आजको ड्रोन हमलासम्मको अद्भूत क्रियाकलापको आधार थियो ।
कार्यका हिसाबले यो निकै सरल थियो । तातेको पानीको वाफ उमालिएको भाँडोबाट इन्जिनसम्म पठाउने र वाफले धकेलेर इन्जिन चलाउने गर्दा डुँगा केही अघि बढ्ने सामान्य गतिलाई देखेर मानिसले महिनौ हराउन सकिने महासमुद्रको यात्रा सम्भव देख्न थालिसकेको थियो ।
वाष्फ उत्पादन र त्यसको इन्जिनसम्म पहुँचलाई निरन्तरता दिन सकेपछि इन्जिन जता पनि र जति टाढा पनि लैजान सकिने भएको थियो । वाष्फले इन्जिनमा हान्न पुग्दा डुँगामा फनफनी घुम्ने शक्ति पैदा हुन गएको थियो ।
पछि यसलाई डबल स्टिम इन्जिनका रूपमा विकास गरिएपछि यसले सापेक्ष चमत्कार नै ल्यायो । तात्कालिन डुँगामा सामान पनि धेरै लैजान सकिने र गति पनि छिटो हुने भयो ।
त्यति बेलासम्म मानिसले अन्य ऊर्जाको प्रयोगतिर सोच्नु भन्दा पनि पानी उमाल्ने भाँडा कति धेरै थप्ने र इन्जिनमा कति धेरै धक्का पैदा गर्ने भन्नेतिर मात्र ध्यान दिने गरेका थिए । पछि त पानी धेरै मात्रामा जोडसँग उमाल्ने र इन्जिनमा ठूलो धक्का पैदा गर्ने गरी प्रवन्ध मिलाउन थालियो । पछि यही इन्जिनलाई टर्वाइनका रूपमा विकास गरियो र आधुनिक जमानामा पानी विजुली निकाल्ने काममा प्रयोगमा ल्याइयो ।
पछि कोइलाले पानी तताएर चल्ने रेल बनाइए । भारतमा अङ्ग्रेजले यही रेल प्रयोगमा ल्याएका थिए । चीनले अहिले विद्युतीय र त्यसमा पनि बुलेट रेल निर्माण र प्रयोग गरिरहेको छ ।
आजभोलिका दिनमा वाष्फको स्थानमा अन्य ऊर्जा प्रयोग गरिएकाले अन्तरीक्ष यान उडान सम्भव हुँदै गएको छ । तर यी सबैको जननी भनेको वाष्फ इन्जिन नै हो । आजभोलिका इन्जिन पनि बलिरहेको उर्जाका कारण धकेलिने र अघि बढ्ने नियममा नै आधारित छन् ।