नकारात्मक राजनीतिले हमेसा व्यक्तिमाथि आक्रमण गर्छ, गालीगलौजमा उत्रिन्छ, अरूलाई निचो, तुच्छ र अक्षम देखाएर आफू असल र सक्षम बन्न खोज्छ, सधैं विगतमा ध्यान केन्द्रित गर्छ र विगतको राजनीतिको कुरा गर्छ । जब, सकारात्मक राजनीतिले व्यक्तिमाथि होइन कि समस्यामाथि आक्रमण गर्छ र भविष्यतर्फ ध्यान केन्द्रित गर्छ ।
नकारात्मक राजनीतिले हमेसा गुनासो र अरूमाथि दोषारोपण गर्छ जब सकारात्मक राजनीतिले अवसरहरू पहिचान गर्छ । नकारात्मक राजनीतिले विसंगतिलाई बेवास्ता गर्छ र अन्य समस्यातिर मोडिन्छ ।
तर, सकारात्मक राजनीतिले सद्भाव, प्रेम र जवाफदेहिता देखाउँछ । नकारात्मक राजनीति अस्थिर र आशाहीन हुन्छ । यस्तो राजनीतिले हमेसा डरडरले नेतृत्व गरिरहेको हुन्छ । तर, सकारात्मक राजनीतिले डरले होइन, विश्वास र संकल्पको साथ नेतृत्व गर्छ ।
तर, नेपालको राजनीति भने पूर्णतया नकारात्मक छ । अनि, कसरी हुन्छ नेपाल सुखी र समृद्ध ? तस्बिर स्पष्ट छ, नेपालमा अधिकांश कम पढेलेखेका, अल्पज्ञानी, अदक्ष्य तथा अक्षम व्यक्तिहरू जान्नेसुन्ने पल्टेर राजनीति गरेको देखिन्छ ।
धेरै पढेलेखेका विज्ञ, दक्ष तथा क्षमतावान् मानिसले या त जागिर व्यावसाय गरेको या किनाराका साक्षी बसेको देखिन्छ । जसको कारण मैले गर्छु साहस देखाउने मूर्खले सत्तामा रजाइँ गरेका छन् भने मैले सक्दिनँ कि भन्ने बुद्धिमान् सडकमा अलपत्र परेका छन् ।
मनोविज्ञानका अनुसार समाजमा कतिपय यस्ता मानिसहरू हुन्छन्, जो यथार्थमा अल्पज्ञानी तथा अक्षम हुन्छन् तर उनीहरूले आफूलाई अद्भूत बुद्धिमान, सर्वज्ञानी र प्रतिभाशाली ठान्छन् । अरू मान्छेलाई मान्छे गन्दैनन् । यहाँसम्म कि विशेषज्ञ तथा समाजले बुद्धिमान ठानेका मानिसको कुरा पनि सुन्दैनन्,
आफूले जेजस्तो गरेको छन् त्यही नै ठीक हो भन्ने गर्छन् । त्यसैगरी समाजमा अर्काथरि मान्छेहरू पनि हुन्छन्, जो ज्ञानी, दक्ष तथा बुद्धिमान् भएर पनि आफूलाई अरूभन्दा कम क्षमतावान् सम्झिन्छन् । मनोवैज्ञानिकद्वय डेबिड डनिंग तथा जस्टिन क्रुगरले प्रकाशमा ल्याएको यस मनोविज्ञानलाई डनिगंक्रुगर इफेक्ट्स भनिन्छ ।
डनिगंक्रुगर इफेक्ट एक यस्तो संज्ञानात्मक पूर्वाग्रह हो, जुन भ्रमात्मक श्रेष्ठताका कारण देखापर्छ । यस किसिमको संज्ञानात्मक पूर्वाग्रही व्यक्ति आफ्नो अल्पज्ञान, अल्पक्षमता तथा आफूले गरेका गल्ती पहिचान गर्न नसक्ने उल्टो मै हुँ भन्ने खालका हुन्छन् भने क्षमतावान्मा भ्रमात्मक हीनता हुन्छ । यो संज्ञानात्मक मनोविज्ञान विलियम सेक्सपियरको मूर्खले आफूलाई बुद्धिमान ठान्छ, तर, बुद्धिमानले आफूलाई मूर्ख ठान्छ भन्ने भनाइसँग मेल खान्छ ।
मानिसमा डनिगंक्रुगर मनोविज्ञान कसरी विकास हुन्छ भन्ने सन्दर्भमा अनेक सिद्धान्तहरू छन् । भ्रमात्मक श्रेष्ठता वा हीनताका कारण मानिसमा डनिगंक्रुगर इफेक्ट देखिने भए तापनि शिक्षादीक्षा तथा वातावरणले यसलाई प्रत्यक्ष असर गर्दछ । यो संज्ञानात्मक मनोविज्ञानको समस्या हो ।
नेपालको राजनीति पनि डनिगंक्रुगर इफेक्टले ग्रस्त छ । सधैंभरि सत्तामा मूर्खको हालीमुहाली छ भने विद्धानहरू कि त उनीहरूको झोला बोकेर कि त तमासा हेरेर बसेका छन् ।
अतः कारण प्रस्ट छ, डनिगंक्रुगर प्रभावमा रहेका यस्ता माइन्डका कारण नै नेपालको राजनीति यतिबिघ्न नकारात्माक भएको हो र नकारात्मक राजनीतिकै कारण नेपाल यसरी पछाडि परेको हो । इमानदार र सक्षम व्यक्ति नेपालको राजनीतिमा नआएका कारण नै देशको यो दुर्गति भएको हो ।
यस सम्बन्धमा चाल्र्स बकोवस्कीले बढो यथार्थ कुरा गरेका छन् शंकाले भरिएका बौद्धिक मानिस र आत्मविश्वासले ओतप्रोत मूर्खका कारण नै संसारमा समस्याहरू देखापरेको हो । नेपालको राजनीतिक समस्याको कारण पनि यही हो ।
त्यसैले, देशलाई सुखी र समृद्धशाली बनाउन आफ्नो ठीक पहिचान गरी इमानदार र सक्षम व्यक्तिहरू राजनीतिमा अगाडि आएर सकारात्मक राजनीति गर्न आवश्यक छ ।
यो देशलाई सुखी र समृद्ध बनाउने हो भने यसको कुनै विकल्प छैन । यदि, इमानदार र सक्षम व्यक्तिले सत्ताको बागडोर समाती सकारात्मक राजनीति गरे भने नेपाल सुखी, खुसी र समृद्धशाली राष्ट्र बन्न धेरै वर्ष पर्खिनु पर्दैन ।
के छैन नेपालमा ? जल छ, जमिन छ, बन छ, जडीबुटी छ । हिमाल–पहाड–तराई, पाखा–पखेरा, छाँगा–छहरा, नदीनाला, वनजंगल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ नेपाल ।
प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारेको यस नेपालमा बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधता छ, अनेकौ धर्म, भाषा र संस्कृति अपनाउनेयावत् जातजाति सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन् । यस्तो सामाजिक सद्भाव संसारमा बिरल्लै देख्न पाइन्छ । समाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमानदार नागरिक र जनशक्तिले पनि धनी छ नेपाल ।
नेपालमा गरीब छ त सिर्फ सकारात्मक राजनीति र सक्षम नेतृत्वले, अहिले मात्र होइन उहिलेदेखि । राणा तथा राजाले नकारात्मक राजनीति गर्नु अनौठो होइन । तर, प्रजातन्त्र तथा लोकतन्त्रमा समृद्धिको हुंकार गर्ने राजनीति दलले नै हमेशा नकारात्मक राजनीति गर्नु अक्षम्य हो ।
तर, देशको बिडम्बना के भने सार्वभौम सम्पन्न हामी नेपाली नगरिकले यो या त्यो दल तथा नेताको पाल्तु कुकुर जस्तो भएर त्यही नकारात्मक राजनीतिलाई नै बढवा दिइरहेका छौं ।
१० किलोमिटर सडक बन्न १० वर्ष लाग्ने हाम्रो देशमा नेताले दुई वर्षमा रेल ल्याइदिन्छु भन्दा थर्रर ताली बजाउने हामी नेपाली भेडा नै हो । संविधानले त हामी नेपालीलाई सार्वभौम सम्पन्न नागरिक बनाएको छ, तर हामी भने प्रजा नै छौं, पहिला राजाका प्रजा, अहिले दल र नेताका प्रजा ।
हाम्रो यही प्रजा मनस्थितिका कारण नै नेपालमा नकारात्मक राजननीतिले जरो गाडेको हो । काम गर्नु केही छैन ६/६ पटक प्रधानमन्त्री बन्ने पालो पर्खेर बसेका छन् नेताहरू । तब पनि हामीहरू प्रत्यक्ष/परोक्ष रूपमा नकारात्मक राजनीतिका यिनै अक्षम सरदारकै पछि लागि रहेका छौं । अनि, कसरी हुन्छ यो देशको विकास ?