इस्लामावाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ।
इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो।
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ।’ सरवन शहर वरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुला उल्लङ्घन’ को निन्दा गरेको थियो।
तेहरानले इराक र सिरियामा पनि ‘इरानी विरोधी आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो। तेहरान र इस्लामावादले एकअर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ।
इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीहरूले ‘रेड सी’ मा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समय इरानको आक्रमणले मध्यपूर्वमा थुप्रै सङ्कटहरू थपेको छ।
बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अष्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए।
-एएफपी