देशमा अहिले पन्ध्रौं आर्थिक योजना अन्त्यतिर आइपुगेको छ । पुगनपुग एक वर्ष मात्र बाँकी छ । यो योजनाको समय २०७६देखि २०८१सम्म हो । यो आर्थिक योजनामा विगतका योजनाहरूको मूल्याङ्कन, कमी कमजोरीमा सुधार र नेपालले लिन र गर्न सक्ने संभावनायुक्त कदमहरूलाई यसको लक्ष्यमा समेटिएको छ ।
यसमा वैदेशिक व्यापार, शोधनान्तर र विदेशी विनिमय कार्यक्रमलाई फेरि पनि प्राथमिकीकरण गरिएको छ । यस प्राथमिकता अन्तर्गत अन्तर्गत सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्व सहितको सुदृढ अर्थतन्त्र बनाउने सोच अघि बढाइएको देखिन्छ ।
निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधनान्तर बचत कायम गर्ने लक्ष्य राखिए पनि वार्षिक आर्थिक समीक्षाले त्यसमा भने र सोचे अनुरूपको लक्ष्य हासिल हुन नसकेको देखाएको छ । यो आर्थिक योजनामा आर्थिक मन्दीले निकै सकस पु¥याएको देखिन्छ । कोभिड महामारीले पनि निकै ठूलो दख्खल दिएको छ यो आर्थिक योजनालाई !
युवा शक्ति विदेशिँदा देशको समग्र उत्पादन अभिवृद्धिमा घाटा हुँदै आएको छ । आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि केही प्रयास गरिए पनि ती खासै कामयावी हुन सकेका देखिदैनन् । यो योजनामा पनि देशगत तथा वस्तुगत विविधिकरण गरी व्यापारघाटा कम गर्न प्रयास गरिने भनिए पनि यो काम प्रभावकारी हुन सकेन । निर्यातजन्य उत्पादनको वैदेशिक बजारका लागि ठोस पहल पनि हुन सकेन ।
विलासिताजन्य वस्तुको आयातमा रोक लगाउन केही कसरत गरे पनि यसले उल्टै कालाबजारीलाई प्रोत्साहन गर्न पुगेको देखिएको छ ।
विदेशी विनिमयमा स्थिरता ल्याउन, बाह्य क्षेत्रमा स्थिरता कायम गर्न र लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्न पनि नसक्दा देशको अर्थतन्त्र समुद्रको डुङ्गा झैं ढलपलढलपल गरिरहेको अवस्थामा छ । अहिले सरकारले अपेक्षा गरिएभन्दा अर्थतन्त्रमा सुधार आएको भने पनि सिङ्गो अर्थतन्त्रका केही सूचकाङ्कमा मात्र सुधार देखिएको हो । आशा गर्ने ठाउँ त होला तर भर पर्न सकिने अवस्था भने छैन ।
नेपालका वैदेशिक व्यापारमा देखा पर्दै आएका समस्या र चुनौतीले निरन्तरता पाइरहेका छन् । केही उद्योगधन्दा चलेको देखिए पनि ती उद्योगमा वैदेशिक कच्चा पदार्थ प्रयोग हुँदा उत्पादित वस्तुको लागत मूल्य अधिक छ । देशमा अहिले पनि उत्पादन कार्यका लागि आवश्यक कच्चा पदार्थ स्वदेशीभन्दा आयातितको बाहुल्यता छ । निकासीजन्य उत्पादनको गुणस्तरमा रहेको ह्रास जस्ताको तस्तै छ । न त उत्पादन विविधीकरण हुन सकेको छ, न त तदनुरूपको निकासीलाई सहयोग पुर्याउने गरी कदम चालिएको नै छ ।
आगामी दिनमा अपेक्षा गर्न सकिने पनि कमै छ । किनकि पर्याप्त भौतिक पूर्वाधारहरूको विकास अहिले पनि हुन सकिरहेको छैन । अर्कोतर्फ भएका पूर्वाधारको पूर्ण सदुपयोग हुन सकिरहेको छैन । यस्तो पृष्ठभूमिमा नेपालको निकासी व्यापारले अर्थतन्त्रमा आशातित योगदान पु¥याउन सक्ने कुरै भएन । आर्थिक उदारीकरण र खुला बजारको नीतिसँगै नेपाल विश्वव्यापार र क्षेत्रीय व्यापार संरचनाभित्र प्रवेश गरे पनि विदेशी वस्तुको भारी बोकेर आउने तर नेपालबाट रित्तो डोको र खाली नाम्लो लिएर सीमापार जाने गर्दा देशको अर्थतन्त्र खोक्रो हुँदै जानु कुनै आश्चर्यको कुरा होइन ।
त्यसमा पनि दक्षिण एशियामा उत्पादन हुने वस्तु दक्षिण एशियाली देशहरूमा प्रायः एकै र उही प्रकृतिका हुने भएकाले पनि नेपालको व्यापारमा विशिष्टीकरण वा विविधीकरण हुन नसकेको देखिन्छ । धेरै छिमेकी देशहरूसँग नेपालको उत्पादन एकै प्रकारको हुन जाँदा गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता नेपाल भन्दा अरू देशकै बढी हुनुले नेपालको वैदेशिक निकासी व्यापार चुनौतिपूर्ण बनिरहेको छ ।
नेपालको निकासी व्यापार सापेक्ष राम्रो चलेको भनेको हस्तकला व्यापार हो । यसले सालिन्दा १२ अर्ब नेपाली रूपैयाँ बराबरको व्यापार गरिरहेको तथ्याङ्कले देखाएको छ । त्यसैले पनि राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।
तर सरकारी प्रयत्न भनेजति पुग्न सकिरहेको छैन । नेपाली कच्चा पदार्थबाट बनेका वस्तुमा नेपालको सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले उत्पादन गरेको सिमेन्टमा उच्चस्तरीय चुनढुङ्गा समिश्रण रहेकाले भारतमा निकासी गर्नका लागि सफल भएको छ ।
हालको पन्ध्रौ योजनामा पनि बढ्दो मात्रामा रहेको व्यापार घाटाको प्रमुख कारण आयातमुखी उपभोग नै हो । यो प्रवृत्ति घट्नुको साटो मौलाउँदै गइरहेको छ । समयानुकुल कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक आधुनिकीकरण गरी उत्पादकत्वमा वृद्धि गर्न नसक्दा यो समस्या झेल्नु परेको हो । अब त वार्षिक रूपमा खाद्यान्नसमेत अत्यधिक मात्रामा आयात गर्नु पर्ने अवस्था सिर्जना हुँदै गएपछि नेपालको अर्थतन्त्र यही अवस्था र चालढालले उँभो लाग्न नसक्ने देखिँदै गएको छ ।
गुणस्तरीय र प्रतिस्पर्धात्मक उत्पादकत्व नहुँदा निर्यात विविधिकरण गर्न सकिने अवस्था नै रहँदैन । अहिले त नेपाललाई गलैचा, पश्मिना र हस्तकलाका सामान आदि सिमित उत्पादन निर्यातमा खुम्चनु परिरहेको छ । प्रतिस्पर्धात्मक उत्पादन र त्यसको निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चा पदार्थमा धयान दिनुपर्छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने भनिएका उद्योगहरू पनि राम्रो अवस्थामा छैनन् । अहिले त हरेक उद्योगमार्फत् उत्पादित निर्यात गरिने सामान अधिकांश विदेशी कच्चा पदार्थबाट बनेकाले मुनाफा हात लागिरहेको छैन ।
पहिलेदेखि निर्यात हुँदै आएका वस्तुहरूको निर्यातमा समेत ह्रास आउन थालिसकेको छ । त्यसमाथि पनि भारतसँगको खुला सिमानाका कारण हुने र भइरहेको अवैध निकासी र पैठारीलाई नियन्त्रण गर्न सकिने अवस्था नै छैन । व्यापार तथा पारवहन सन्धिअनुसार पनि व्यापार तथा पारवाहन सहजीकरणका लागि छिमेकी देशहरूसँगको समन्वयात्मक सीमा व्यवस्थापन समेत प्रभावकारी हुन सकिरहेको छैन ।
देशमा विप्रेषण आयको उपभोगमुखी प्रवृत्ति बढ्दै गइरहेको छ । श्रम सम्बन्ध दिनानुदिन कमजोर हुँदै गइरहेको छ । यति मात्र होइन, श्रम उत्पादकत्व र मानव पुँजी पलायनताको मात्रा डरलाग्दो गरी उकालो चढिरहेको छ । देशमा औद्योगिक सुरक्षा तथा लगानीमैत्री वातावरण सिर्जना हुन कठिन भइरहेको छ ।
तत्कालका लागि व्यापार घाटा कम गर्ने उपायहरूमा आन्तरिक उत्पादन वृद्धि गर्नमा जोड दिनै पर्छ । विश्व बजारमा मूल्य अभिवृद्धियुक्त वस्तु तथा सेवाको निकासी बढाउन खोज तथा अनुसन्धान गर्नैपर्छ । यसका लागि अध्ययन तथा अनुसन्धानलाई बढावा दिइनु जरूरी छ । नेपालले नेपाली विशिष्टताको सन्दर्भमा जलविद्युत्को उत्पादन तथा खपत बढाउनु जरूरी छ । यसबाट मात्र विदेशबाट मगाइने इन्धनजन्य वस्तुहरूको आयातमा क्रमशः कटौती गर्दै लैजान सकिने देखिन्छ । निजी क्षेत्रलाई आकर्षित गर्न सकिने वातावरण निर्माणमा सरकार लाग्नुपर्छ ।
निर्यातजन्य सेवा क्षेत्रहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नतिर जोड दिनै पर्छ । बिलासी तथा स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वस्तुहरूको आयातमा गरिएको कडाइलाई निरन्तरता दिनु पर्छ । द्विपक्षीय, क्षेत्रीय तथा वैश्विक बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच पुर्याउनु पर्छ ।