• मंसिर १३ २०८१, बिहीबार

अर्धवार्षिक समिक्षा : सरकारी आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

माघ १ २०८०, सोमबार

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिमा आम्दानी भन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँबराबर बजेट घाटा व्यहोरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबर राजस्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.९ प्रतिशत बराबर हो ।

६ महिनामा कर राजस्वतर्फ ३३.९८ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ संकलन गरिएको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बराबर असुली भएको छ ।

चालु आवका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर बजेट छुट्ट्याइएकोमा ३८.३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो । यस्तै, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ बराबर छुट्ट्याइएकोमा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।