वर्षायाम सुरु हुनासाथ अन्य कानभित्र एकदमै चिलाउने, दुख्ने भएर चिकित्सककहाँ पुग्नेहरूको संख्या बढ्दो छ । कानको नलीमा ढुसी (फंगस) को संक्रमण अर्थात् अटोमाइकोसिसका कारण हुने गर्छ यस्तो समस्या ।
कानमा ढुसीको संक्रमणसमेत भनिने यो समस्याले प्रभावितहरू अन्य मौसममा आक्कलझुक्कल चिकित्सककहाँ पुग्ने गरे पनि वर्षा लागेपछि यो क्रम बढ्ने गर्छ ।
‘हामीकहाँ यो मौसममा उपचार गराउन आउने सयजनामध्ये पाँच/छ जनामा अटोमाइकोसिसको समस्या पाइने गरेको छ,’ त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख डा. राजेन्द्र गुरागाईं भन्छन् ।
कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू यो संक्रमणबाट पीडित भएमा जटिलता देखिन सक्ने बढी सम्भावना हुन्छ । एस्पर्जिलस नाइगर र क्यान्डिडा एल्भिकेन्स नामक फंगसका कारण यो संक्रमण हुन्छ ।
‘फंगसहरूले कानभित्र बनाएको फोहोर पदार्थ पहेँलोजस्तो भए एल्भिकेन्स र कालो भए नाइगर फंगसले गर्दा यो संक्रमण भएको बुझिन्छ,’ डा. गुरागाईं भन्छन्, ‘वातावरणमा आर्द्रता र कानभित्रको गर्मी यो फंगसलाई बढाउन सहायक हुन्छ । यस्तो हुँदा फंगसले फस्टाउने मौका पाउँछ ।’ यस्तो संक्रमण नहोस् भन्नाका लागि कानको नलीलाई सुक्खा राख्नुपर्छ । कानभित्र पानी पस्न दिनु हुँदैन ।
तेल पनि हाल्नु हुँदैन । मधुमेही, क्यान्सर रोगी, केमोथेरापी गराइरहेका, मृगौला प्रत्यारोपण गराएका वा डायलासिस गराइरहेका, शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूको कानमा फंगस उत्पन्न हुने समस्या बढी हुन्छ । कानमा जथाभावी थोपा औषधि हाल्ने गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । यस्तो फंगसले पछि गएर कानको संक्रमण उत्पन्न मात्रै नगरेर यो शरीरका अन्य अंगमा समेत फैलिन सक्छ । यसले कानको पर्दामा असर र श्रवणशक्ति प्रभावित हुन्छ ।