काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन् । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरू त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन् ।
शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताए । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
‘यो हस्तकला निर्माण विकास मन्त्रालय नै बनाऔं भन्नुभएको रहेछ । यो मन्त्रालय नै थप्ने कुरामा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन । मन्त्रालय त बरू घटाउनुपर्छ कि जस्तो लाग्छ मलाई पर्सनल्ली,’ उनले भने, ‘तर पनि यो मन्त्रालय नभए पनि विभागसम्म हुन्छ कि भन्ने तपाईंहरूको अर्को प्रस्ताव पनि छ । त्यसलाई सकारात्मक रूपमा सोच्नुपर्छ जस्तो मलाई लागेको छ ।’
उनले हस्तकलासम्बन्धी छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए ।
उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोर्होयाए । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए ।
उनले हस्तकला क्षेत्रको विकासका लागि सो सम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए ।