• आश्विन १२ २०८१, शनिबार

कस्तो छ देशको अर्थतन्त्रको समग्र अवस्था ?

पुष २६ २०८०, बिहीबार

काठमाडौं । । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान स्थितिको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा चालु आर्थिक वर्षमा महँगी ४.९५ प्रतिशतले महँगी बढेको छ ।

गत वर्षको मंसिर महिनामा ७.३८ प्रतिशतले महँगी बढेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा महँगी ६.७१ प्रतिशतले बढेको छ । जुन अर्थ मन्त्रालयले निर्धारण गरेको सीमाभन्दा केही बढी हो ।

चालु आर्थिक वर्षमा सरकारले ६.५ प्रतिशतले महँगी बढ्ने अनुमान गरेको थियो । महँगीको वृद्धिदर कम हुँदै गएकाले चालु आर्थिक वर्षमा सरकारले निर्धारण गरेको सीमाभन्दा महँगी वृद्धिदर कम हुने देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षभन्दा ७.५२ प्रतिशतले, भदौमा ८.१९ प्रतिशत, कात्तिकमा ७.५ प्रतिशत र मंसिरमा ५.३ प्रतिशतले महँगी बढेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको ५ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजा ७७९ र १ लाख १५ हजार ९४८ रहेको थियो ।

चालु खाता १४० अर्ब २३ करोडले बचतमा

सरकारको चालु खाता १४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १४० अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।