• मंसिर १२ २०८१, बुधबार

पोखरालाई तत्काल पर्यटन राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पुष २६ २०८०, बिहीबार

पोखरा । गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ ।

बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितले पर्यटकीय राजधानी घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास गर्दै जान सकिने सुझाव दिएको छ ।

गण्डकीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा १२ मंसिरमा गठित ११ सदस्यीय समितिले एक महिनाभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदन बिहीबार मुख्यमन्त्री पाण्डेलाई बुझाएको छ ।

‘हामीले हाम्रो अध्ययनलाई २० बुँदामा समराइज गरेका छौं । यो २० बुँदाले यहाँको भौतिक अवस्थादेखि सबै कुरा समेटेको छ’, अध्ययन समितिका संयोजक देवकोटाले भने, ‘पर्यटनको राजधानी त भन्यौं । तर, हामी तयार छौं कि छैनौं, हाम्रा पूर्वाधार तयार छन् कि छैनन् भन्ने सम्पूर्ण कुरा समेटेका छौं ।’

पर्यटन राजधानी घोषणा गरेपछि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितका सुझाव प्रतिवेदनमा समावेश गरिएको संयोजक डा. देवकोटाले बताए । पर्यटन राजधानी घोषणा गर्दा यहाँको पूर्वाधार क्षेत्र, नीति तथा कानुनी क्षेत्र, सेवाको गुणस्तर अभिवृद्धिलाई लिएर सुझाव दिइएको पनि उनको भनाइ छ ।

‘अल्पकालीन सुझावमा पूर्वाधार विकास तथा विस्तार, साँस्कृतिक तथा सम्पदाको प्रवर्धन, राजनीतिक तथा बजारिकरण समावेश गरेका छौं’, डा. देवकोटाले भने । अल्पकालीन काममा ३ वर्षभित्र गर्न सकिने योजनाहरु समावेश छन् ।

त्यस्तै ५ वर्ष अवधि तोकिएको मध्यकालीन सुझावमा बसोबासका विकल्पहरुको विविधिकरण र व्यवसायिक जनशक्ति उत्पादन गर्ने रणनीतिसहितको सल्लाह सुझाव दिइएको समितिको भनाइ छ ।