• मंसिर १२ २०८१, बुधबार

वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन

पुष २६ २०८०, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उनीहरूले गुनासो गर्ने अवसथा आउनु भएन,’ उनले भने,‘वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्छ ।’
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए ।

छलफलमा प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।