नेपाल अझै पनि कृषि प्रधान देश नै छ । नेपालभित्र रहेको कूल जनसङ्ख्या कृषि कर्म र कृषिमा नै निर्भर छ । नेपालले बाहिर निर्यात गर्ने भनेको कृषि उत्पादन नै हुन् । उद्योगधन्दा र कलकारखानाका उत्पादनको सपना देख्नु स्वैर कल्पना मात्र हो । अर्कोतिर तेल, पाम तेलजस्ता विदेशी कच्चा पदार्थ आयात गरेर मुनाफा कमाउने भन्ने पनि आधारहीन सोच मात्र हो ।
बाह्य कच्चा पदार्थ आयात गरेर गरिने व्यापारले क्षणिक वा अल्पकालीन मुनाफा त्यो पनि केही व्यक्ति वा समूहलाई त देला पनि ! तर यो बिचौलियाले पाउने मुनाफा हो । यसमा देशको आर्थिक प्रगति देख्न सकिदैन । वास्तविक मुनाफा पनि हुँदैन ।
नेपाल अहिले आफ्ना ससाना कृष् िउत्पादन लिएर विदेशी बजारमा पसिसकेको छ । विदेशी सामानमा आफूलाई अभ्यस्त पनि गराइसकेको छ । उदारीकरण अर्थव्यवस्था पनि अवलम्बन गरिसकेको छ । यस्तो बेलामा तदनुरूप आफूलाई तयार पार्नुको विकल्प नेपाल र नेपालीसँग छैन ।
नेपाली उखान ‘सङ्गिनाको देख्छु, रहरले मर्छु’ भनेर पनि हुँदैन । आर्थिक उन्नति आफैले गर्ने हो । आर्थिक उन्नति रातारात हुँदैन पनि । तर आर्थिक अवनति शताब्दियौंसम्म रहँदैन पनि । यदि देशमा आर्थिक अवनतिको कुचक्र शताब्दियौंसम्म रह्यो भने त्यो शासक वर्गको बदनियत, असक्षमता र दलालीको पर्याय हो । अयोग्य शासकको बल मिचाइपूर्ण रजाइँ मात्र हो । त्यसले देश र नतालाई दुःख मात्र दिन्छ ।
आर्थिक उन्नतिका लागि देश र जनताको ल्याकत र हैसियत कहाँ छ, त्यहिँबाट सुरू गर्नुपर्छ । आर्थिक आधार वा जग पुरातन उत्पादनमा हुने तर सपना रङ्गीचङ्गी देखेर हुँदैन । आर्थिक विकास राष्ट्रपति वा प्रधानमन्त्री एक्लैले अफिसमा वा शयनकक्षमा सपना देखेर मात्र पनि हुँदैन । आर्थिक उन्नतिका लागि सिङ्गो देश उठ्नु पर्छ र सबै जनता अविश्राम गति दिएर अगाडि बढ्नु पर्छ ।
जनता अघि बढ्न तयार छन् । विदेशमा गएर आफ्ना प्राण दिइरहेका छन् । देश तथा आफ्नो आर्थिक उन्नतिका लागि जनतामा कुनै पनि हिच्किचावट देखिदैन । तर देश विकासको नेतृत्व गर्ने सरकार, विकास प्रशासन तथा नीति, योजना र कार्यक्रम भने कहिल्यै पनि जनमुखी र देशअनुकूल भएनन् ।
नेपालको आर्थिक विकासको विशिष्टता तथा जनताको चाहना र क्षमता सम्बोधन गर्न असफल सैयौं सरकारी विकासे योजना कागजभरि पोतिएका र लिपिएका छन् । नेपालीपनसँग मेल नखाने भएकाले ती कार्यान्वयनमा आउन सकिरहेका छैनन् ।
यो अपूरोपन, अदूरदृष्टि तथा पिछलग्गू मानसिकताको उपज हो । नेपालमा किसानलाई पानी उपलब्ध गराइदिए पुग्छ । यसका लागि ‘किसानसँग पानी’ कार्यक्रम लिएर जनतामाझ पुग्नुपर्छ । जनताले स्थानीय विशिष्टता अनुरूप खेतीपाती थालिहाल्छन् । धेरै विकासे वा आयातित मल, बीउ र प्रविधितिर तानिनु जरूरी छैन । बरू यहाँ अर्गानिक खेती र उक्त खेती तथा पशुपक्षीपालनबाट उत्पादित गुणस्तरीय उत्पादनको खपतमा सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
यसका लागि किसानलाई निशुल्क पानी, सस्तो व्याजदरमा ऋण र बजारीकरणका लागि सरकारी तत्परता वा जवाफदेहिता भए पुग्छ । नेपालको उत्पादन नेपालमै खपत र पूर्वको उत्पादन पश्चिममा र पश्चिममको उत्पादन पूर्वमा र उत्तरको उत्पादन दक्षिणमा र दक्षिणको उत्पादन उत्तरमा खपतका लागि आकर्षण बढाउन सकनु पर्छ । ‘नेपाली उत्पादन पहिला’ भन्ने मानसिकता विकास गराउन सक्नुपर्छ ।
त्यसपछि नेपालको उत्पादन विश्व बजारमा र खास गरी चिनियाँ र भारतीय बजारमा पुर्याउन भरमग्दुर प्रयास गरिनु पर्छ । नेपालको अर्गानिक उत्पादन चीन वा भारतको एउटै सहरमा खपत गरिनमात्र पुग्ने हैसियत नेपालीको छ, अहिले । चीनले ग्वाङजाओ सहरमा मात्र सिंगो नेपालको फलफूल, तरकारी, हरियो साग, मासु तथा अन्नआदि खपत गरिदिने हो भने त्यो चिनियाँ सहरको जनसंख्यामाझ पर्याप्त मात्रामा उत्पादन पुर्याउन १० वटा नेपालको उत्पादन चाहिन्छ ।
त्यसै गरी भारतको लखनऊमा मात्र नेपालले पुर्याउने हो भने प्रत्येक वर्ष मुस्किलले धान्न सक्छ । यसको पहल सरकार र सरकारी मानिसले गर्ने हो । झिङ्गा चिप्लने कार चढेर अनि टिलिक्क टल्कने जुत्ता लगाएर शान झार्दै कुर्सीमा बसिरहने होइन । यसका लागि सार्थक प्रयास जरूरी छ ।
हामी कति धेरै सम्पन्न र भाग्यमानी छौं भने प्रत्येक नेपालीको आफ्नै घर र जग्गा जमिन छ । त्यहाँबाट केही न केही उत्पादन हुन्छ । सुकुम्वासीको सङ्ख्या नगन्य छ । यदि नियमित दुईचार पैसा आयआर्जनको बाटो दिने हो भने नेपालीको जीवनस्तर अरू देशको तुलनामा थोरै समयमा अकल्पनीय गुणात्मक देखिन्छ ।
यसका लागि मात्र किसानसँग पानी र अर्गानिक उत्पादनको देशीय तथा अन्तरदेशीय खपतमा सरकारले जिम्मा लिने आँट देखाउनु पर्छ । त्यो क्षमता र हैसियत नेपाल सरकारको भयो भने नेपालमा अन्तर्राष्ट्रिय हवाइ उडान भएका काठमाडौं, पोखरा, भैरहवासम्म पुग्ने सरकारी ग्रिन बस सेवा दिएर उत्पादित वस्तुको अन्तर्राष्ट्रि एयर बस र बोइङ उडान हुने स्थलसम्मको सहज सरकारी यातायातको पहुँच दिए पुग्छ । अहिले रेल वा अन्य कुराको समस्या देखाएर पन्छनु बुद्धिसँगत हुँदैन ।
बोइङ र एयर बसका सामान राख्ने तल्लो भाग भरिभराउ पठाउन सकियो भने नेपाल रातारात समृद्ध हुनतिर उकालो चढ्न थाल्छ ।