सियोल । दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुरको मासु व्यापारलाई अन्त्य गर्ने लक्ष्य राखेको छ । सियोलले कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउन नयाँ कानुन संसदबाट पारित गरेको छ ।
यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो कोरियाली संस्कार अन्त्य गर्ने लक्ष्य राखेको छ । उसो त कुकुरको मासु विगत केही दशकमा कोरियाली खानाहरूबाट बाहिरिँदै गएको थियो । विशेष गरी युवाहरू कुकुरको मासु खानबाट टाढिँदै गएका थिए ।
यद्यपि, कोरियाली संस्कृतिकै रूपमा विभिन्न चाडपर्वमा कुकुर काट्ने र त्यसलाई खाने चलन यथावत नै थियो । नयाँ कानुन अन्तर्गत कुकुरको मासु वितरण वा बेचबिखनका साथै आफ्नै उपभोगका लागि कुकुर पाल्न वा काट्न निषेध गरिनेछ । यस्तो कार्यमा दोषी पाइएकालाई जेल पठाइनेछ ।
सन् २०२७ पछि कुकुर काट्ने व्यक्तिलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्छ भने मासुका लागि कुकुर पाल्ने वा मासुका लागि कुकुर बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुनसक्छ । यद्यपि, कुकुरको मासुको उपभोग आफैमा गैरकानुनी हुनेछैन । यसको अर्थ विदेशबाट ल्याइने कुकुरको मासु भने खान पाइनेछ ।
कानुन अनुसार अब किसान र रेष्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न तीन वर्षको समय दिइनेछ । सन् २०२७ पछि कानुन लागू हुनेछ । उनीहरूले आफ्ना व्यवसाय कहिले बन्द गर्ने भनेर पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिनुपर्नेछ ।
सरकारले कुकुरको मासु किसान, कसाई र रेस्टुरेन्ट मालिकहरूलाई पूणर् रूपमा सहयोग गर्ने वाचा गरेको छ । उनीहरूलाई क्षतिपूर्ति दिइने विषयमा छलफल जारी छ । सरकारी तथ्यांक अनुसार दक्षिण कोरियामा सन् २०२३ मा करिब १६०० रेस्टुरेन्टले कुकुरको मासु खानाका रूपमा सेवा गर्दछन् । दक्षिण कोरियामा १ हजार १५० कुकुर फार्म छन् ।