• आश्विन १३ २०८१, आईतवार

चिसो मौसममा ‘डिहाइड्रेसन’को खतरा

पुष २४ २०८०, मंगलवार
जाडोयाम शुरु हुनासाथ हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ। जाडोयाममा प्यास कम लाग्ने कारण हामी कम पानी पिउँछौँ।शरीरमा पानीको मात्रा कम भएर जाडोमा मानिसहरुलाई कब्जियत, ग्यास वा अन्य समस्याहरूले सताउन पनि सक्छ। त्यसैले यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्छ।

शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ। त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ।

जाडो याममा पनि कम्तीमा २–३ लिटर पानी वा तरल पदार्थ जस्तै कागती पानी, नरिवल पानी, ग्रिन टी आदि पिउनुपर्छ ।

अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारेएक अध्ययन गरेको छ । पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने अध्ययनले बताएको छ।

साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मि.लि, पिसाबबाट १५०० मि.लि गरी लगभग २–३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ।

शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ। तसर्थ कुनै काम नगरी बस्दापनि २–३ लिटर पानी नित्य पिउँनै पर्दछ। कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ। वयस्क मानिसले जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ।

पानी कतिसम्म पिउने ?

– सफा र स्वच्छ पानी पिउनु पर्दछ।

– अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हुँदैन।

– पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।

– एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन। १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।

– दिनको ३–४ लिटर पानी पिउनु पर्छ। नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।

– खानासँग पानीको सेवन गर्नु हुँदैन। खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन। खाना खानुभन्दा आधा घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु उत्तम मानिन्छ ।

– धेरै तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन।

– थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन। धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ।