• बैशाख १० २०८२, बुधबार

बंगलादेशमा विवादित चुनावबाट हसिनाले जितिन्, विपक्ष दलका नेता भने जेलमा

पुष २३ २०८०, सोमबार

काठमाडौं । बंगलादेशमा विवादित भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिनाले पाँचौँ कार्यकालका निम्ति चुनाव जितेकी छन् । बंगलादेशमा आइतबार आमनिर्वाचन भएको थियो । सोमबार बिहान निर्वाचन आयोगले हसिनाको सत्तारूढ दल अवामी लिग पार्टी विजयी भएको जनाएको छ ।

यद्यपी विपक्षी दल भने सो चुनावमा भाग लिन पाएको छैन । हसिनाले विपक्षी पार्टीलाई ‘आतंकवादी संगठन’ भन्दै  आएकी छिन् । विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले सो चुनाव बहिष्कार गरेको थियो ।

हसिना सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन् । उनी २००९ मा दोस्रोपटक प्रधानमन्त्री बनिन् । त्यसयता उनी निरन्तर सत्तामा छिन् ।

बंगलादेशमा करिब १२ करोड मतदाता छन् । आमनिर्वाचनमा लगभग ४० प्रतिशतले मात्र मतदान गरेको बताइएको छ ।

बीएनपीका सहसचिव रुहुल कबीर रिजवीले अवामी लिग प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन् ।बंगलादेशको विपक्षी पार्टीका कैयौँ नेताहरू जेलमा छन् । हसिनाको सरकारले मानवअधिकार हनन र विपक्षी दलमाथि आक्रमण गरेको आरोप छ ।

प्रतिद्वन्द्वीबिना नै चुनाव गरेको हसिनाको सत्तारूढ पार्टीले एकदलीय व्यवस्था भन्नबाट जोगिन केही निर्वाचन क्षेत्रमा उमेदवार नउठाएको बताइएको छ । ७६ वर्षीया हसिनाले भने यो निर्वाचनलाई ‘लोकतान्त्रिक प्रक्रिया’ भनेकी छन् ।

कुल ३०० मध्ये उनको पार्टीले २२० सिट जितेको छ । अरू दलसँगको साझेदारीमा उनको सरकार अझै बलियो बन्ने आकलन गरिएको छ । दी गार्जियनबाट ।