काठमाडौं । सांसदहरुले दिएका सुझाव आगामी १६औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन्।
उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताए। स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उनले उल्लेख गरे। उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनिरहँदा ५ अर्बको चामल खरिद भइरहेको जानकारी गराए।
मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने उनको भनाइ थियो। उनले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६औं योजना तर्जुमा गर्न निर्देशन दिए।