काठमाडौं । काठमाडौंको गोंगबुमा सञ्चालित गोंगबु भैरव बहुउद्धेश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सयको हाराहारीमा सेयर सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठले छरिएर रहेको पुँजी जम्मा गरी कोसेली हाउस खोल्ने योजना सुनाए । उनले त्यसका लागि हातको सीपबाट बनाइएका सामानहरु बेच्ने स्टल राख्नु पर्ने बताए ।
सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले आफूहरु हाल देशमा देखिएको आर्थिक समस्याको जानकार रहेको र चनाखो रही सहकारी सञ्चालन गर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि डा.सैलेन्दु नेपालले संघ संस्थामा आवद्ध रहँदाका अनुभूतिहरु सुनाउँदै हाल देशका केही सहकारीहरुमा देखिएका समस्याहरुबाट सचेत रहँदै सहकारी सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा सो सहकारीका सचिव दामोदर ढकालले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै गोंगबु भैरव सहकारीले कमाउने उद्धेश्यले लगानी नगरेको र बरु आफ्नै सेयर सदस्यहरुलाई नै व्यापार-व्यवसाय गर्नका लागि ऋण प्रवाह गरिएको बताए ।