• मंसिर १५ २०८१, शनिबार

सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा एमालेसित सहकार्य नगर्ने

पुष २१ २०८०, शनिबार

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धन भित्रकै दलबीच भागबण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ । ‘अहिले त्यो विषय (एमालेसँग सहकार्यको) छैन, गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ’, उनले भने, ‘गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’ बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताए ।

‘अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निणर्य गरेको अवस्था भएको हुनाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्छ’, उनले भने ।

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुने भएको छ । दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् ।