• मंसिर १२ २०८१, बुधबार

जिनशानलिङका ‘ढुङ्गे–बाख्रा’

पुष २० २०८०, शुक्रबार

ग्रेटवालको एक आकर्षक हो, जिनशानलिङ पहाड ! यसको वरिपरि देखिने डरलाग्दा चट्टानी भूभागले जो कोहीलाई पनि सोच्ने बनाउँछ । जोकोहीलाई पनि लाग्न सक्छ, शायद यो क्षेत्रमा ग्रेटवाल निर्माण गर्दा त्यतिका दुःख भएन होला ! तर हुँदाका दुःख र नहुँदाका दुःख फरक भने अवश्यै हुन्छन् । जिनशानलिङ पहाडमा ठूला चट्टान हुनुका कारण त्यहाँ ग्रेटवाल निर्माण गर्दा निकै ठूला दुःख र झमेला उठाउनु परेको कथा चिनियाँ माभ निकै लोकप्रिय छ ।

कथामा वर्णन गरिए अनुसार अहिले पनि स्वीकार गरिन्छ कि जिनशानलिङमा ग्रेटवाल निर्माण हुँदा असङ्ख्य मानिस घाइते भएका थिए । धेरैले त ज्यान गुमाएका थिए । यहाँका स्लेट आकारका ठूला ढुङ्गाका कारण यसो हुन गएको थियो । ठूल्ठूला ढुङ्गा बोक्न नसकिने खालका थिए । कुदेर तयार पारिएका ती ठूला स्लेट ढुङ्गा पहाडको टुप्पामा कसरी लैजाने भन्ने समस्याले धेरैको सातो उडाएको थयो ।

श्रमिक मानिसलाई जति सक्यो ठूला ढुङ्गा कुद्न लगाइएको थियो । त्यसमा पनि ती स्लेट आकारमा निर्माण गर्न हौस्याइएको थियो । आज्ञा र अर्डर अनुसार ती सबै काम समयमै भए तर ढुङ्गा बोकेर माथि पहाडको टुप्पोमा कसरी लैजाने भन्ने समस्या रहि नै रह्यो ।

यस्ता विसालकाय ढुङ्गा पहाडको टुप्पोमा लैजान खोज्दा धेरै मानिस हताहत भएका थिए । यो हताहती युद्धको भन्दा कम दर्दनाक थिएन । यसको पीडा र रोदन चारैतिर फैलियो । त्यसपछि उद्दारकर्ता भगवान एर्लाङ उनीहरूको सहयोगका लागि त्यहाँ ओर्लिए, आफ्नो जादुगरी शक्तिसहित !

भगवान एर्लाङले आफ्नो तरवार झिकेर अगाडि राखे । उनले जादु गरेर त्यो तरवारलाई छडीमा परिणत गरिदिए । त्यो छडी उनले हातमा लिएपछि कुँदिएर राखिएका ढुङ्गातिर हेरे । भगवान एर्लाङ्ले हेर्ने बित्तिकै ती सबै ढुङ्गा बाख्रामा परिणत भए र चलमलाउन थाले । एर्लाङ्ले यसै मौकामा सबै बाख्रालाई पहाडको टुप्पोतिर धपाउन थाले । ती सबै बाख्रा सकुशल पहाडको टुप्पोमा पुगे ।

टुप्पोमा पुगेपछि सबै बाख्रा एकएक गरी क्रमशः ढुङ्गामा परिणत हुँदै गए । ढुङ्गाको राश लाग्न थाल्यो । बाख्रा आउँदैछन्, ढुङ्गामा परिणत हुँदै छन् । यो प्रक्रिया देखेर त्यहाँका श्रमिक आफैमा आश्चर्य चकित भइरहेका थिए । सुरक्षाका लागि त्यहाँ फौज पनि खटिएका थिए ।

बाख्रा ढुङ्गामा परिणत हुने निरन्तर प्रक्रिया देखेपछि मुस्किलले हाँसो थामिरहेको एकजना सिपाही एक्कासी खित्का छाडेर हाँस्यो । उसलाई भगवानले कसरी जादुमय तरिकाले सहयोग गरिरहेका भन्ने लागिरहेको थियो । हाँसोको यो खित्का सुनेर देवता झस्किए । उनी झस्कदा ग्रेटवालबाट केही ढुङ्गा जग भत्काउँदै तल खसे ।

अहिले पनि जिनशानलिङस्थित वाङजिङ टावरको फेदमा केही स्लेट ढुङ्गा हराएको निसाना सहजै देखिन्छ । लामो समयसम्म खाली रहेको यो भाग ग्रेटवाल पुनर्निर्माण गर्दा मात्र छोपिएको थियो । अहिले पनि जिनशानलिङ पहाडमा रहेको वाङजिङ टावरको मुनीका १२ वटा तहमध्ये ५ वटा तहमा ती हराएका स्लेट ढुङ्गाको ठाउँमा ब्लक राखिएको स्पष्ट देखिन्छ ।

जिनशानलिङ क्षेत्रको ग्रेटवाल आफैमा ढुङ्गाको खानी रहेको छ । यसको चारैतिर जुरढुङ्गाका खानी नै छन् । तिनमा पनि ती ढुङ्गा स्लेट आकारका चारपाटे मिलेका र गह्रुङ्गा तथा निकै आकर्षक छन् ।

जिनशानलिङको बीचमा वाङजिङ टावर रहेको छ । यो टावर जिनशानलिङको मुटु मानिन्छ । यसैका मुनी ‘बाख्रे ढुङ्गा’ अधिक प्रयोग भएको विश्वास गरिन्छ । यो क्षेत्रमा निर्मित ग्रेटवालमा त्यति बेलाका मानिसले पर्खाल निर्माण गर्दा ल्याएको र प्रयोग गरेको ढुङ्गा अहिले पनि आश्चर्यलाग्दा छन् । ती ढुङ्गा मानिसले कसरी ल्याउन संभव भयो होला भनी अहिलेका ग्रेटवाल पर्यटकले जिब्रो टोक्छन् । जिनशानलिङको नेपाली रूपान्तरण आफैमा ‘बाघे पहाड’ हो ।

यो पहाडमा वनजङ्गल र पहरा तथा चट्टानले भरिभराउ भएकाले यहाँ त्यति बेलामा प्रशस्त बाघ बस्ने गर्दथे । यहाँ हरेक ठाउँमा बाघे ओढारहरू भटिन्छन् । परापूर्व कालदेखि अहिलेसम्म पनि यो क्षेत्र संरक्षित छ ।