• मंसिर १५ २०८१, शनिबार

देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

पुष १९ २०८०, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा पुगेका पूर्वराजा शाहले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने पनि बताए ।

“के गर्दा र के कस्तो विधि अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैँले तय गर्ने विषय हो,” उनले भने । पूर्वराजा शाहले आफू जता जाँदा पनि जनताबाट ‘आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ’ भनेर आउने गरेको दाबी गरे ।

‘हामी सबैको दृढ प्रयत्न यसैअनुरूप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आऊ अब हामी सबै एकै ठाउँमा उभिऔँ,’ उनले भने ।

उनले आफूले अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए । ‘म कतै अन्त गएको छैन । सदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख दु:ख, सुविधा-असुविध बाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ उनले भने ।