रामेछाप । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि फरक ढंगले क्रान्ति जारी रहेको बताएका छन् । जनयुद्धको शान्तिपूणर् रूपान्तरणसँगै क्रान्तिको स्वरूप पनि फेरिएको उनको भनाइ छ ।
बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्रीले तत्कालीन युद्धकाक्रममा आफूहरुले घरेलु हतियारकै बलमा बेथान चौकीमा आक्रमण गरेको स्मरण गरे ।
बेथान चौकी आक्रमण हुँदा आफू लुम्लेको कृषि फार्ममा रहेको पनि बताए । प्रधानमन्त्रीले भने, ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ।’ उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं । यो क्रान्तिको शान्तिपुर्ण मोर्चा हो ।’ प्रचण्डले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह भएको पनि बताए ।
‘त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो’, उनले भने ।
कार्यक्रममा बेथानका शहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मानका साथै शहिद स्मारकको उद्घाटन गरिएको थियो ।