काठमाडौँ । बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।
सन् २००६ मा नोबेल पुरस्कार पाएका युनुसलाई बंगलादेशको श्रम कानून उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।
श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् । न्यायाधीशले युनुस सहित अरु ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए ।
न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए ।