• मंसिर १५ २०८१, शनिबार

देशले विप्लवलाई वैकल्पिक नेतृत्वको रुपमा स्वीकारिसकेको छ : पोलिटब्यूरो सदस्य आधार सी

पुष १६ २०८०, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा अतिथिको रुपमा उपस्थित पार्टीका राजनैतिक समिति सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले देशले वैकल्पिक नेतृत्वको रुपमा महासचिव कमरेड विप्लवलाई  स्वीकारिसकेको बताए । उनले भने,‘नेपाली समाज नयाँ नेतृत्व र त्यसमा विप्लव भनेर तयार भइसकेको छ ।’

बैठकमा अतिथिको रुपमा उपस्थित अर्का नेता अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टीका राजनैतिक समिति सदस्य कमरेड बन्धु सीले अहिले संसार बहुध्रुवमा गएको हुनाले अमेरिकाले जे भन्यो त्यो मात्रै लागू नहुने बताइन् । नेतृ सीले जुनसुकै हालतमा नेपालमा अमेरिकी परियोजना एमसीसी लागू हुन नदिने बताइन् ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीम सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी लगायतका अतिथिहरु उपस्थित थिए ।

जिल्ला सचिव मदन सीको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा सहभागी जिल्लाका सचिवालय सदस्य, सदस्य र विभिन्न जनवर्गीय संगठन तथा मोर्चाका जिल्ला अध्यक्ष तथा संयोजकहरुले कार्यक्षेत्रका रिपोर्टिङ गर्नुको साथै नेताहरु समक्ष जिज्ञासा प्रकट राखेका थिए ।

बिस्तारित बैठकले समाजवादी मोर्चा, पार्टी संगठन, जनवर्गीय संगठन, राजनीति, संघर्ष, राजनैतिक अन्तरक्रिया, आर्थिक र उत्पादन लगायतका प्रस्तावहरुमाथि छलफल गरेर निर्णय गरेको जिल्ला सदस्यराजेन्द्र सीले जानकारी दिए ।