काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा विचाराधीन विधेयक सरकारले बीचैमा अपहरण गर्न नमिल्ने बताएका छन् ।
मन्त्री गुरुङले संसद् र संसदीय समितिमा विचाराधीन विधेयक त्यहाँको सम्पत्ति भएकाले त्यसलाई सरकारले बीचैमा अपहरण गरेर त्यहाँ राखिएको प्रावधान थपघट गर्न नमिल्नेतर्फ सांसदहरूको ध्यानाकर्षण गराए ।
सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरिएको थियो ।
सोही छलफलमा सांसदहरूले सो विधेयक सामसामयिक नभएको भन्दै मन्त्री गुरुङको आलोचना गरेका थिए । त्यसको जवाफ दिनेक्रममा मन्त्री गुरुङले संसद्को सम्पत्तिको रूपमा रहेका विधेयकलाई कानुनमन्त्रीले मनलाग्दी गर्न नमिल्ने बताए ।
उनले आफूले पनि सो विधेयक पढेकाले हरिलट्ठकको रूपमा चित्रण गर्ने प्रयास नगर्न पनि सांसदहरूलाई आग्रह गरेका थिए ।