काठमाडौँ । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् ।
नयाँ वर्ष सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनका क्रममा उनले आफू महारानी बनेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा औपचारिक रुपमा पद त्याग्ने बताएको बीबीसीले जनाएको छ ।
८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् ।
मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् । उनी युरोपमा सबैभन्दा लामो समयसम्म ५२ वर्ष पदमा रहेकी छन् ।
उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् ।
उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो ।’ उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत दिइन् ।