काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो ।
जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको उल्लेख छ । नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने उल्लेख छ ।
यो कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले लेखा समितिमा बताए अनुसार मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत् गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ ।
त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ । यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुनसक्ने भएकाले सो को प्राप्ति पश्चात यकिन हुनसक्ने जानकारी समेत प्राधिकरणले लेखा समितिलाई गराएको छ ।
सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले जनाएको छ ।
बिक्रीकर्ता दोहोरो कर हो वा होइन यकिन गर्ने निकाय आन्तरिक राजस्व विभाग रहेको समेत प्राधिकरणले बताएको छ । पूँजीगत लाभकरका विषय समेत सोही विभागले हेर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।