• मंसिर १३ २०८१, बिहीबार

बिजुली काटिएपछि ठूला उद्योगका मजदूरहरु सरकारविरुद्ध प्रदर्शनमा

पुष ११ २०८०, बुधबार

सिमरा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाभित्र संचालनमा रहेका केही केही उद्योगको विद्युत काटिएपछि मजदुरहरू प्रदर्शनमा उत्रिएका छन् ।

जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल्स र हुलास स्टिलको विद्युत लाइन विद्युत प्राधिकरणले काटेपछि यी उद्योगका मजदुरहरूले आज जितपुर सिमरामा प्रदर्शन गरेका हुन् । उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्दै उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा मजदुरहरूले आफूहरू परेको गुनासो गरे ।

विद्युत कटौती गरेका उद्योगबाट आएका मजदुरहरूले इलाका प्रहरी कार्यालय सिमरा र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमरामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

विद्युत‌ प्राधिकरणले एक्कासी लाइन काटेपछि रोजगार दाताहरूबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराइएको ज्ञापनपत्रमा उल्लेख छ । यसबाट ६ हजारभन्दा बढी श्रीमकहरूको रोजगारीमा असर परेको मजदुरहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रदर्शनमा आधिकारिक ट्रेड युनियन जगदम्बा स्टिल मजदुर युनियन सिमरा, अखिल नेपाल मजदुर संघ आधिकारिक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औद्योगिक मजदुर संघ त्रिवेणी स्पेनिङ मिल्स छातापिपराका मजदुरहरूको सहभागिता रहेको थियो ।

यता नेपाल विद्युत‌ प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रमेश रुपाखेतीले सिमरा वितरण केन्द्रको मातहत रहेका ५ वटा उद्योगबाट पाँच सय पचास करोड रुपैयाँ महसुल उठाउन बाँकी रहेको बताएका छन् । नेपाल विद्युत‌ प्राधिकरणले पत्राचार गरेअनुसार नै आफूहरूले महसुल तिर्न नसकेका केही उद्योगको लाइन काटिएको उनले बताए ।

सिमरा विद्युत प्राधिकरण अन्तर्गत रहेका जगदम्बा स्टिलको ४ सय १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिलको ४३ करोड, सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ विद्युत महसुल बाँकी रहेको बताइएको छ । सिमरा वितरण केन्द्रभित्र रहेका जगदम्बा स्टिल र अशोक स्टिलको विद्युत काटिएको कार्यालय प्रमुख रुपाखेतीले बताए ।