काठमाडौं । प्रतिनिधिसभाका सांसद मनिष झाले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा विभिन्न शंकाको पाटो रहेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले टेरामक्सको आशय तथा उद्देश्य स्पष्ट नहुँदा शंका गर्ने ठाउँ रहेको बताए ।
टेरामक्सका लागि आवश्यक हार्डवयर र सफ्टवेयर खरिदमा गरेको अग्रिम भुक्तानी पनि शंकास्पद भएको उनको भनाइ छ । राष्ट्र बैंकको निर्देशन विपरीत अन्तराष्ट्रिय कारोबारको अनुमति नलिएरै कति पैसा पठाइयो र अदालतको निर्णयविरुद्ध समेत मन्त्रालयले कसरी बजेट दियो भन्नेमा सांसद झाले प्रश्न गरेका छन् ।
बैठकमा बोल्दै उनले भने,‘हार्डवेयर ल्याउने, सफ्टवेयर नेपाली ल्याउने भन्यौं । यसको ठेक्का लेबनानको कम्पनीलाई किन दिइयो ? नेपालकै आइटी कम्पनीसँग किन नगर्ने ? ६ वर्षपछि पुनः त्यही कम्पनीसँग त्यही पुरानै फिचरको प्रविधि किन किन्ने ?’
प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।