• मंसिर १२ २०८१, बुधबार

पेट दुख्नुका कारण

पुष ११ २०८०, बुधबार

१. ग्यास्ट्राइटिस

खानेनली, पेट र सानो आन्द्राको कुनै भागमा घाउहरु हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ । खानाको समय नमिल्दा र धूमपान तथा मध्यपानको अत्याधिक प्रयोगले ग्यास्ट्राइटिस गराउँछ । पेटमा भएको एसिड माथि आउने क्रमलाई भने ग्यास्ट्रो इसोफ्याजियल रिप्mलेक्स डिजिज (जिइआरडी) भनिन्छ । यसले मुटु पोल्ने, पेट पोल्ने, छाती पोल्ने, अमिलो पानी मुखमा आउने, पटक–पटक डकार आइरहने हुन्छ । जिइआरडी धेरैजसो मोटो व्यक्तिमा, खानामा धेरै चिल्लो परिकार खाने, व्यायाम नगर्ने, धूमपान र मध्यपान सेवन गर्नेहरुमा बढी देखिन्छ । त्यस्तै धेरै तनाव लिने व्यक्तिमा पनि यो समस्या आउँछ । पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खानेनलीको भित्री छालामा चोट पुग्छ । जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ । जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफूखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्छ ।

२. पित्तथैलीमा स्टोन

कहिलेकाहीँ पित्तथैलीमा स्टोन भएमा पनि पेट दुख्छ । पित्तथैलीमा स्टोन हुँदा पित्तको थैली सुनिन्छ र पेट दुखेजस्तो हुन्छ । यसलाई मेडिकल भाषामा कोलिस्टाइटिस (एक्युट कोलिसिस्टाइटिस) भनिन्छ । यो समस्या पटक–पटक दोहोरिएमा क्रोनिक कोलिसिस्टाइटिस हुन सक्छ । दुखाइको प्रकृति हेर्दा ग्यास्ट्राइटिसले पेट दुखेजस्तो हुन्छ तर पित्तथैलीको कारण पेट दुखिरहेको हुन सक्छ । पित्तथैलीबाट सानो आन्द्रामा एउटा नली जान्छ (कमन वाइल डक्ट) र उक्त नलीमा सानो ढुंगा अड्किँदा पनि पित्तथैलीमा समस्या आउँछ र माथिल्लो पेट दुख्छ । यो समस्या भएकाहरुलाई माथिल्लो पेटको दायाँ भाग एक्कासी दुख्ने र तुरुन्तै दुखाइ कम हुने गर्छ

३. प्यान्क्रियाटाइटिस

हाम्रो पेटमा प्यान्क्रियाज भन्ने अंग हुन्छ । जसलाई अग्नाशय भन्ने गरिन्छ । अग्नाशय पेटको पछाडीको भित्रको भागमा हुन्छ । यसको पनि खाना पचाउने नलीहरु सानो अन्द्रामा बगेको हुन्छ । कहिलेकाहीँ पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ । यसका कारण प्यान्क्रियाटाइटिस हुने गर्छ । अग्नाशय सुन्निनु प्यान्क्रियाटाइटिस हो । अत्याधिक मात्रामा मध्यपान र धूमपान गर्ने मानिसलाई प्यान्क्रियाटाइटिस हुने गर्छ।

४. सानो आन्द्रामा संक्रमण

सानो आन्द्रामा संक्रमण भएमा मध्य भाग अर्थात् नाइटोको वरिपरि दुख्ने गर्छ । यो समस्या खानपिनको गडबडी, फुड पोइजनिङ भएपछि देखापर्छ । सानो आन्द्राको संक्रमणकै कारण झाडापखाला लाग्ने हुन्छ । सानो आन्द्राको दुखाइलाई ‘पेरिओम्लाइकल पेन’ भनिन्छ ।

५. अल्सर

अल्सरलाई ग्यास्ट्रिक अल्सर (आमाशयमा हुने) र डुयोर्नल अल्सर (आन्द्राको पहिलो भागमा घाउ) गरी दुई रुपमा छुट्याइको हुन्छ । अल्सर विशेषगरी हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) नामक किटाणुका कारण हुन्छ ।यो ब्याक्टेरियाले आमाशयमा घर बनाएर बसेको हुन्छ । एक अध्ययनका अनुसार नेपालमा अल्सर भएका हरेक १० जना मध्ये ६ जनामा यो किटाणुको संक्रमण देखिन्छ । यो किटाणुको समयमै पहिचान हुन सक्यो भने उपचारपछि सजिलै निको हुन्छ । समयमै पहिचान गरिएन र लापरबाही गरियो भने ब्याक्टेरियाको संक्रमणका कारण पेटको क्यान्सरसम्म हुन सक्छ ।

६. दुखाइ कम गर्ने औषधिको असर

दुखाइ कम गर्न प्रायः मानिसले फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफिन, एस्पिरिनजस्ता ‘पेन किलर’को प्रयोग गर्छन् । तर, यस्ता औषधिको प्रयोगले पेटमा ठूलै समस्या ल्याउन सक्छ । दुखाइ कम गर्ने औषधीले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुको रोगीले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधी ‘एस्पिरिन’को प्रयोगले पनि पेटमा अल्सर बनाउन सक्छ ।

७. धूमपान र मध्यपान

धूमपान र मध्यपानको अत्याधिक प्रयोग गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस हुन सक्छ । धूमपान र मध्यपानले लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ । यस्तै, लिभरमा हेपाटाइटिस भएमा, किड्नीमा स्टोन अथवा युरेटेरिक स्टोन भएमा, कोलिटिज (ठूलो आन्द्राको सुजन) भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमा पनि पेट दुख्ने समस्या आउँछ ।