• मंसिर १५ २०८१, शनिबार

संघीयताले जनप्रतिनिधि र खर्च बढायो भन्ने भाष्य बनाउन खोजियो : प्र.म दाहाल

पुष १० २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएको बताएका छन् । सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा उनले अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने भाष्य गलत भएको बताए ।

संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ छ । ‘लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन, जनतामा त्यसको लाभको समान वितरण पनि हुन सक्दैन । अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन् । अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिल्कुल गलत छ । संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ,’ उनले भने ।

‘एकात्मक राज्य व्यवस्थामा कुल एक लाख ५५ हजार ८६२ जनप्रतिनिधि रहेको तर अहिले जम्मा ३८ हजार ४५३ जनप्रतिनिधि मात्र रहेकाछन् । हिजो एउटा गाविसमा ४७ जना जनप्रतिनिधि थिए, ती अहिले सामन्यतः वडामा रूपान्तरण भएका छन् र जम्मा पाँच जना जनप्रतिनिधिन् तर तिनले गरेका कार्यहरूले जनतालाई कति धेरै छुन्छ भन्ने उदाहरण त गत कार्तिकको जाजरकोट भूकम्पपछि बिहान ३ बजेदेखि नै भूकम्पपीडितको खोज, उद्धार र राहतमा खटेका जनप्रतिनिधिको सक्रियताले देखाउँदैन र ?,’ प्रधानमन्त्रीको भनाइ छ ।