मानव शरिर लिएर जन्मेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई समाजमा सम्मान साथ बस्न पाउनु गाह्रै छ । उनीहरुलाई जीवनयापन गर्नका लागि नोकरी, पेशा र व्यापार व्यवसाय गर्न सहज छैन । किनभने उनीहरु महिला पुरुष भन्दा फरक पहिचान भएकै कारण समाजबाट हिंसाका शिकार हुने गरेकाछन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले शारारिक मानसिक र यौनिक हिंसा भोगेका अनेक घटना छन् । उनीहरुलाई हिंडाई बोलाइका आधारमा विद्यालयमा बुलिङ गरिन्छ । जिस्काउनका लागि केटाहरु कतिपयको गोप्य अंगहरु छुने गर्छन् ।
महिला र पुरुष भन्दा फरक व्यवहार र हाउभाउकै कारण विभिन्न निहुमा कुटपिट गरिन्छ । तर ती घटना सार्वजनिक रुपमा न्यायका पाउनका लागि पहल गरिनुपर्छ भनी आउँदैनन् । तसर्थ यिनीहरुको अवस्था कस्तो छ भनी बुझ्ने क्रममा हिंसाका शिकार भएका यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका श्यामकुमार (नाम परिवर्तित)सँग भेट हुँदा सेतो सर्ट, कालो पाइन्ट र टाउकोमा हेलमेट लगाएकोले चिन्न अलि गाह्रो नै हुने । हेलमेट झिकेर कार्यालयमा आएपछि नजिकमा राखेको कुर्सीमा बस्दा उनले ओठमा हल्का रातो रंगको लिपस्टिक लगाएका थिए । जुन नजिक बसेकाले मात्र हेर्दा थाहा पाउन सक्थे ।
उनको उमेर २२–२३ वर्ष जति रहेको छ । उनले ५ वर्ष अघि मात्र थाहा पाए की उनको वास्तविक पहिचान के छ भनी । कुराकानी अगाडि बढ्यो श्यामकुमारले भने ‘म शरीर केटा जस्तो लिएर जन्मे पनि मेरो हाउभाउ केटी जस्तो छ । यसको बारेमा मेरो घरपरिवारलाई पनि थाहा छैन ।’ घरपरिवारलाई थाहा नदिने कारण बारे बताउँदै उनले भने ‘समाजले स्वीकार गर्दैन खिल्ली उडाउँछ । छक्का हिजडा भन्छ । घरपरिवारलाई यो सुनेर दुःख होला भनी अहिलेसम्म जानकारी गराएको छैन । म चाहन्छु हामी जस्तो छौं समाजले हामीलाई त्यही रुपमा सम्मानका साथ स्वीकार गरोस् ।’
पश्चिम तारा नेपालमा एक वर्षदेखि आवद्ध रहेका २२ वर्षीय विनय बाबु (नाम परिवर्तित) पुरुषको अंग लिएर जन्मे । उनी विद्यालयमा पढ्दा खाजा र खानाको समयमा पिसाब फेर्न जाँदैनथे, पिसाब रोकेर बस्थे । उनको अनुभव अनुसार पिसाब च्यापेर बस्दा कति गाह्रो हुने गर्छ त्यो पीडा बयान गर्न सकिँदैन । किनकि खाजाको समयमा जाँदा केटीकेटाहरुको चर्पीमा भीड हुन्छ । उनीहरुले जिस्काउँछन् भनेर डर हुने ।
यसकारण मध्यान्ह सकेपछि अनि मात्र जादाँ सहज लाग्ने हुँदा गाली खाएर पनि एक घण्टी सकेपछि मात्र जाने गर्थे । सन् २०१७ मात्र आफ्नो वास्तविक पहिचान थाहा पाएका विनय बाबु भन्छन्‘कम्तीमा सार्वजनिक चर्पीमा महिला पुरुष न लेखिदिए हामीलाई जान सहज हुनेछ ।’ कौमती पुन २०६६ सालदेखि सार्वजनिक रुपमा खुलेर अंकित पुन बनेकीछिन् । आफ्नो आमाबुवाका उनी दुई छोरा र दुई छोरी गरी चार सन्तान बीच कान्छी छोरीको रुपमा जन्मेकी थिइन् । ४१ वर्षीय पुनले १२ वर्षको उमेरमा आफनो वास्तविक पहिचान थाहा पाइन् । उनलाई सार्वजनिक रुपमा पहिचान सहित खुल्न निकै चुनौतीको सामना गर्नु पर्यो । उनले आफनो पहिचानकै कारण घरपरिवार छाड्नुपर्यो ।
अहिले उनीसँग रोजगारीको अवसर छैन । संघ–संस्थाको सहयोगमा खुले पनि पहिचान अनुसार न त स्थापित हुन न पुरानो पहिचानमा फर्कन सकेकीछिन् । न राज्यले कुनै सुविधा दिएको छ । कोटामा पनि महिला अनि पुरुष भनिन्छ । पैतृक सम्पत्तिमा अंश लिनका लागि पनि गाह्रो नै भइरहेको छ । समाज र कानून अनुसार विवाह गर्ने अनुमति छैन । तथापि उनले वैवाहिक जीवन बिताउने चाहना राख्छिन् ।
अहिले अहिले प्रेम सम्बन्धमा एक जना केटीसँगै बस्दै गरेकी अंकित पुन भन्छिन्‘राज्यले हाम्रो पहिचान सहित सेवासुविधामा पहुँच र अधिकार दिनुपर्छ । हाम्रो विवाहलाई कानूनी मान्यता दिनुपर्छ । रिलेशनशिपमा बस्ने केटीको सबै आवश्यकता पूरा गर्छु । उसलाई पढाउँछु । उसको लागि कमाउँछु तर हाम्रो विवाहलाई कानूनी मान्यता नदिएकोले कतिखेर केटीले छाडेर गइहाल्ने हो कि भनी डरले सताइरहन्छ । किनभने सँगै बस्दै गरेकी केटी गइसकेपछि फिर्ता ल्याउन सक्ने कुनै कानूनी आधार छैन ।’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रहरीले महिला पुरुष सरह समान रुपले हेर्छ । यद्यपि जिल्ला प्रहरी कार्यालयमा यो वर्ष यो समुदायलाई गरिएको हिंसाको घटना डाटामा छैन । सचेतनाका कारण हिंसाका घटनामा कमी आएको हुनसक्छ । डीएसपी नारायण डांगी भन्छन्‘यो वर्ष ठुलै हिंसाको घटना सम्बन्धी डाटा छैन । सामान्य झैझगडाको घटना आएमा हामी एकदमै प्राथमिकताका साथ बिना कुनै विभेद मुद्दा हेर्ने गरेका छौं ।’
कानूनमा अझै धेरै ठांउमा संशोधन गर्नुपर्ने देखिन्छ । सन्तानलाई छोराछोरीकै रुपमा व्याख्या गरिएको छ । विगत लामो समयदेखि वकिल र नागरिक समाजको भूमिका निभाउँदै आइरहेका अधिवक्ता बसन्त गौतम भन्छन् ‘यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय भएकै कारण हुने हिंसाका घटना खासै आउदैनन् । छिटफुट घटना आएमा त्यसलाई हाल कानूनमा भएको व्यवस्था अनुसार कारबाही गरिन्छ ।’
विगत १७ वर्षदेखि नेपालगञ्जमा पश्चिम तारा नेपालकी परिना चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्दै आइरहेकीछिन् । जसले गर्दा समाजमा चेतना फैलिएको छ । अहिले पनि खुलेर सार्वजनिक भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु अधिकांश बेरोजगार रहेकाछन् । पहिचान खुलाएर सार्वजनिक हुनेहरुले आत्मसन्तुष्टि पाए तर अवसर पाएका छैनन् । परिना चौधरी भन्छि,‘पहिला जस्तो जटिल अवस्था छैन । समाजमा सचेतना बढेको छ तर समान अवसर अझै पाउन गाह्रो नै छ ।’
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको हालसम्मको अवस्था र समस्या माथिका उदाहरणले प्रष्ट हुन्छ । यसको समाधानका लागि उनीहरुलाई समाजमा सम्मानका साथ बाच्न पाउनु पर्ने अधिकारको व्यवस्था कानूनले कार्यान्वयन गर्नुपर्छ । सरकारले उनीहरुको आय आर्जनका लागि शीप मुलक आयमूलक तालिमहरु संचालन गरी आत्मनिर्भर बनाउन पहल गर्नु आवश्यकता महसुस भइसकेको छ ।