• मंसिर १५ २०८१, शनिबार

गणतन्त्रका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्न नहुने वर्षमान पुनको भनाई

पुष ७ २०८०, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन् ।

गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पाटी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् ।

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । ३ वटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने ।
गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनले बताए । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरू सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए ।

‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्ड विरुद्धको अभियान चलाएको छ । अरूले सुन पास गराइरहेका थिए । माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’ उनले प्रश्न गरे ।