काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाइए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो सम्मेलनमा उनले यस्तो बताएका हुन् । कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने माग उठेको उनले उल्लेख गरे । प्रदेश सरकारले राखेका माग पूरा गर्न आग्रह उनले आग्रह गरे ।
उनले कांग्रेस महासमिति बैठकसम्म प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन ल्याउन आग्रह गरे । त्यति बेलासम्म कानुन नल्याइए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले बताए ।
प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । महामन्त्री शर्माले रुस-युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्याउनेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
उनले युद्धमा मृत्यु भएका नेपालीको शव गनेर बसेर मात्र राज्यको कर्तव्य पूरा नहुने बताए । यो विषयलाई गम्भीरतापूर्वक लिन उनले सरकारलाई आग्रह गरे ।