• मंसिर १५ २०८१, शनिबार

समावेशिताको नाममा एउटै व्यक्तिलाई पटक पटक अवसर दिन नहुनेमा जोड

पुष ३ २०८०, मंगलवार

काठमाडौं । एक कार्यक्रमका सहभागीले एउटै व्यक्तिलाई पटक–पटक समावेशिताको आरक्षणमा अवसर दिन नहुनेमा जोड दिइएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सङ्घीय समितिद्वारा आज आयोजित अन्तक्र्रियाका वक्ताहरूले आरक्षणमा अवसर दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले धेरैपटक समावेशिताको प्रयोग गर्दा अवसर पाउनुपर्ने व्यक्ति बञ्चित हुनुपरेको बताए । लोकसेवा आयोगका विज्ञापन, शिक्षक सेवा आयोग, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वजस्ता क्षेत्रमा एउटै व्यक्ति समावेशिताको अवसरको दुरुपयोग गरेको उनको भनाइ छ ।

राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जाअरशद बेगले मुस्लिम महिलालाई आयोगको सदस्यमा नियुक्ति गर्नुपर्ने बताए । दलित आयोगका सदस्य मेहेल पार्कीले आरक्षण हटाउनु भनेको पिछडिएका वर्गलाई झन् पछि पर्ने खेल भइरहेको बताए ।

टिप्पणीकर्ता सालिक सुवेदीले समावेशितामा खस र आर्यले आरक्षणको दुरुपयोग गरेको बताए । प्रतिनिधिसभामा खस र आर्य समुदायले आरक्षणको दुरुपयोग गरेको उनको भनाइ छ । अर्का टिप्पणीकर्ता जेबी विश्वकर्माले समावेशी आयोगमा तरमारा मध्यम वर्गले अरक्षण लिएर निम्न वर्गको स्थान ओगटेको आरोप लगाए ।

कैलाश राईले कार्यपत्र प्रस्तुत गर्दै अब आउने निर्वाचनमा समतामूलक सामाजिक न्यायको प्रत्याभूतिको यात्रामा एक साझा र आधारभूत राजनीतिक औजारका रूपमा बहस हुन जरुरी रहेको बताए ।