• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्रीलाई सांसदको प्रश्न के एनसेल अबको पाँच वर्षमा सरकारको स्वामित्वमा आउँछ ?

पुष ३ २०८०, मंगलवार

काठमाडौं । एनसेलको सेयर किनबेच प्रकरणको विषयमा छानबिनका लागि समिति बनेर अध्ययन गरिरहेका बेला राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले एनसेल सरकारको स्वामित्वमा आउने ग्यारेन्टी खोजेका छन्।

मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्ने क्रममा सत्तारुढ र प्रतिपक्षी सांसद्हरूले यस्तो बताएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सन् २०२९ सम्म एनसेल सरकारको स्वामित्वमा आउने-नआउने कुराको स्पष्ट जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन्।

सांसद न्यौपानेले एनसेल खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री दाहालका परिवारको नाम पनि जोडिएको भन्दै स्पष्ट जवाफ माग गरिन्। त्यसैगरी नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ एनसेल खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्रीकै परिवारका सदस्य र प्रधानमन्त्रीको पनि नाम जोडिएको बताउँदै छानबिन सकिँदासम्म सबै तथ्य बाहिर आउनुपर्ने बताएका छन्।

उनले बिरालोको रंग जस्तो भए पनि मुसो मार्नुपर्ने बताउँदै वि.सं. २०८६ सालसम्म एनसेल सरकारको स्वामित्वमा आउनुपर्ने पनि बताएका छन्।