काठमाडौं । सहकारीका निक्षेपकर्ताको बचत रकम ठगीको अभियोगमा पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छराज तामाङ सर्वोच्च अदालत पुगेका छन्। आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
तामाङले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत पाटनको निर्णय बदर भइ धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन्।
संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै ३ साता लामो थुनछेक बहसपछि २०७८ पुसमा तामाङलाई थुनामा पठाएको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। पाटनले पनि जिल्लाको आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन्।