• बैशाख १० २०८२, बुधबार

भारतमा एक हप्तामै ९२ सांसद निलम्बन, कारण, संसद भवनमा भएको कलर बम आक्रमण

पुष २ २०८०, सोमबार

नयाँ दिल्ली । भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन् । गत डिसेम्बर १४ र सोमबार गरी जम्मा ९२ जना सांसद निलम्बित भएका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले लेखेको छ ।

‘पटक–पटक संसदको कार्यवाही अवरूद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई निलम्बन गरिएको छ । जसमा भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ जना र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसद छन् ।

त्यस्तै यसअघि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बन गरिएको थियो । यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद सुरक्षा उल्लंघनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना अत्यन्त गम्भीर भएको बताएका छन् । सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।