काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकलाई पठाउन नसकिने बताएका छन् ।
आइतबार मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालबाट वैदेशिक रोजगारीको लागि खाडी लगायतका मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे ।
उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरुको माग गर्दा नै ती देशको एजेन्सीहरुले समेत कमिसन लिने गरेको बताए । उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए । सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे ।
उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने बताए । उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवा शुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवा शुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए ।
सचिव भण्डारीले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोलिएका संस्थाहरुले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने बताए । उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरुले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरु खारेज गर्न लागेको बताए । उनले दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरुलाई खारेज हुने बताए ।