सुनसरी । एमाले की नेतृ सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनु पर्ने बताएकी छिन् ।
थारु कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भएपनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन् ।
सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९औं जिल्ला अधिवेशनमा बोल्दै थारू अगुवा नेतृ समेत रहेकी चौधरीले थारू कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेको बताउँदै समग्र थारूहरूको विकास, उत्थानका लागि अब समय अनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन् ।
थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडी बढाउन सभाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारूहरूको उपस्थिति बढाउँदै लैजानुपर्नेमा जोड दिइन् ।
‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो । दोश्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूहरूलाई सक्षम र योग्य बनाउनु हो । यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ ।’ उनले भनिन् ।
काङ्ग्रेस, एमाले जस्ता दलहरूसँगै स्थापना भएको संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चौधरीले सत्तामा थारू समुदायको उपस्थिति बढाउन सकेमात्र थारू समुदायको हक अधिकार सुनिश्चित हुने जिकीर गरिन् ।