• मंसिर १३ २०८१, बिहीबार

भन्सारविरुद्ध आम जनता पार्टीले आन्दोलन गर्ने, के हो कारण ?

मंसिर ३० २०८०, शनिबार

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले फेरि भन्सारविरुद्ध आन्दोलन गर्ने भएको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आजपाले आन्दोलन गर्न लागेको हो ।

जसअनुसार शनिबार बसेको आजपाको सम्पर्क मञ्चको राष्ट्रिय भेलाले आवश्यक निर्णय गर्दै आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको हो ।

‘मञ्चको राष्ट्रिय भेला भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराऊ गर्ने उद्घोषका साथ सुसम्पन्न भएको छ’, बैठकपछि उनले जानकारी दिए ।

आजपाले गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । तर, त्यतिबेला चाडपर्वका कारण आजपाले माग सम्बोधन नहुँदै अर्को निर्णय नहुँदासम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको थियो । सरकारी वेतनभोगी कर्मचारीमार्फत् राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।
देशको राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने भए पनि राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको साहको भनाइ छ । सरकारी राजस्वलाई लुट्न गलत कानुनी प्रावधान निर्माण गरिएको साहले दाबी गरे ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ ।

यसरी देशको संसदलाई छलेर नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीको निजि खातामा गइरहेको उनको भनाइ छ ।

‘यसर्थ, देशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र गुणात्मक राजस्व वृद्धि गर्न सर्वप्रथम भन्सार नियमावलीबाट कथित पुरस्कारको व्यवस्था हटाउन जरुरी छ,’ आजपाको भनाइ छ ।