• बैशाख १० २०८२, बुधबार

निमावि तह शिक्षकको सातै प्रदेशका लिखित परीक्षाको नतिजा प्रकाशित

मंसिर ३० २०८०, शनिबार

काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयका लागि परीक्षा दिनेको नतिजा प्रकाशित गरेको हो।

यसैगरी कोशी, मधेश र वाग्मती प्रदेशको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै सातै प्रदेशका लागि मौखिक अन्तर्वार्ताको मिति तोकेको छ।

गण्डकीका लागि खुला र आरक्षित गरी १९ शिक्षकका लागि खुलेको विज्ञापनमा ३६१ जना लिखित परीक्षामा सहभागी भएका थिए। त्यसमा २९ जना उत्तीर्ण भइ मौखिक अन्तर्वार्ताको छनोट सूचीमा परेका छन्। ६ जना मागिएको लुम्बिनीमा १ सय ६२ जनाले परीक्षा दिएका थिए, जसमा ११ जना अन्तर्वार्ताको छनोट सूचीमा परेका छन्।

यस्तै ६ जना मागिएको कर्णालीमा १ सय ५४ जनाले परीक्षा दिएका थिए, जसमा मौखिक अन्तर्वार्ताको छनोट सूचीमा पर्नेको संख्या १२ छ। ११ पदका लागि भएको सुदूरपश्चिमको परीक्षामा २ सय ३३ सहभागी थिए, जसमा १८ जना मौखिक परीक्षाका लागि छनोट सूचीमा परेका छन्।

कोशी प्रदेशका लागि खुलाइएको १९ पदमा लिखित परीक्षा दिने ५ सय ४ जना थिए। मौखिक अन्तर्वार्ताक लागि ३० जना उत्तीर्ण भएका छन्। मधेस प्रदेशको २४ सीटका लागि लिखित परीक्षा दिने ३ सय १० जना थिए। मौखिक परीक्षाका लागि ३३ जना उत्तीर्ण भएका छन्।

२८ जना मागिएको वाग्मतीमा ५ सय ९९ जनाले लिखित परीक्षा दिएका थिए। उत्तीर्ण हुने ४२ जना छन्। मौखिक परीक्षा आयोगले पुस २२ गतेका लागि तोकेको छ। प्रदेशका शिक्षा निर्देशनालयहरुमा हुने अन्तर्वार्ता गण्डकीको पोखरा, लुम्बिनीको दाङ, सुदूरपश्चिमको दिपायलमा हुने आयोगको सूचनामा छ।

यस्तै कोशीको धनकुटा, मधेसको जनकपुरधाम वाग्मतीको हेटौंडामा हुने तोकिएको छ।